Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – रुस नियन्त्रित पूर्वी युक्रेनको स्टारोबिल्स्कमा रहेको एक विद्यार्थी होस्टलमा शुक्रबार भएको भीषण ड्रोन आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसलाई ‘जघन्य अपराध’ को संज्ञा दिँदै आफ्नो सेनालाई युक्रेनविरुद्ध कडा प्रतिशोध लिन आदेश दिएका छन् ।

रुसको कब्जामा रहेको लुहान्स्क क्षेत्रमा भएको यस आक्रमणमा दर्जनौँ घाइते भएका छन् भने १५ जना अझै बेपत्ता छन् । राष्ट्रपति पुटिनले युक्रेनी सेनाले नागरिक क्षेत्रलाई नै लक्षित गरी यो आक्रमण गरेको दाबी गरेका छन् । रुसी सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै पुटिनले भने, ‘त्यस क्षेत्रमा कुनै पनि सैन्य वा खुफिया निकायका सुविधाहरू थिएनन् । यो आक्रमण झुक्किएर भएको होइन. १६ वटा ड्रोनले तीन चरणमा सोही भवनलाई निशाना बनाएका थिए ।’ मस्कोले यसको उचित जवाफ दिने र त्यसका लागि सेनालाई आवश्यक तयारी गर्न निर्देशन दिइसकेको उनको भनाई छ ।

यता, युक्रेनी सेनाले भने रुसी दाबीको खण्डन गरेको छ । युक्रेनले सो क्षेत्रमा रुसी सेनाको एक ‘एलिट ड्रोन कमान्ड युनिट’ रहेको र आफूहरूले सैन्य लक्ष्यमा मात्रै प्रहार गरेको बताएको छ।  किभले आफूले अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गरेको र नागरिकलाई कहिल्यै निशाना नबनाएको दाबी गरेको छ ।

रुसकी मानव अधिकार आयुक्त याना लान्त्रातोभाका अनुसार आक्रमण हुँदा लुहान्स्क पेडागोजिकल युनिभर्सिटीको होस्टलमा १४ देखि १८ वर्ष उमेरका ८६ जना किशोरकिशोरीहरू सुतिरहेका थिए । रुसी अधिकारीहरूले भग्नावशेषबाट दुई जनाको जीवितै उद्धार गरिएको र अझै १८ जना बालबालिकाहरू भित्र पुरिएको हुन सक्ने बताएका छन् ।

स्थानीय बासिन्दा ल्युबोभ याकोभ्लेभनाले ठूलो विस्फोटको आवाज सुनेको र आफ्नो घरको झ्यालका सिसाहरू थर्किएको बताइन् । उनले भनिन्, ‘हामी रातभर सुत्न सकेनौँ, जताततै आगो दन्किरहेको थियो, त्यो दृश्य निकै डरलाग्दो थियो ।’

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसलाई ‘क्रुर अपराध’ भन्दै दोषीलाई सजाय दिनुपर्ने माग गरेका छन् । रुसले यस घटनाको बारेमा छलफल गर्न न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक समेत बोलाएको छ । रुसी विदेश मन्त्रालयले यसलाई ‘आतङ्कवादी आक्रमण’ भन्दै विश्व समुदायलाई यसको कडा निन्दा गर्न अपील गरेको छ ।

तपाईको प्रतिक्रिया