Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

टोकियो – कुनै व्यक्तिको अनुमति विना उसको राष्ट्रियता वा पारिवारिक पृष्ठभूमि सार्वजनिक गरिदिने प्रवृत्ति जापानमा पछिल्लो समय गम्भीर बहसको विषय बनेको छ । व्यक्तिको इच्छा विपरीत उसको ‘मूल’ उजागर गर्दा मानसिक चोट पुग्नुका साथै विभेद र बहिष्कारको जोखिम बढ्ने भन्दै विज्ञहरूले यस्तो कार्य रोक्न चेतावनी दिएका छन् ।

यस प्रवृत्तिलाई ‘आउटिङ’ भन्न थालिएको छ, जुन शब्द सामान्यतया कसैको अनुमति विना उसको लैङ्गिक पहिचान वा यौनिक झुकाव सार्वजनिक गरिदिने सन्दर्भमा प्रयोग गरिन्छ । अनुसन्धानकर्ताहरूका अनुसार कसैको जातीय वा राष्ट्रिय उत्पत्ति अनुमति विना खुलाउनु पनि उत्तिकै हानिकारक हुन्छ । यसैलाई मध्यनजर गर्दै कतिपय जापानी नगरपालिकाहरूले यस्तो कार्यलाई रोक्न विशेष अध्यादेशहरू समेत ल्याउन थालेका छन् ।

बहुसांस्कृतिक सहअस्तित्वका विज्ञ एवं तोकाई विश्वविद्यालयका लेक्चरर लरेन्स योशिताका तागुचीले सन् २०२४ मा गरेको एक सर्वेक्षणले जापानमा बसोबास गर्ने मिश्रित मूलका मानिसहरूको पीडालाई उजागर गरेको छ । विशेषगरी जापानी र विदेशी दम्पतीबाट जन्मिएका सन्तानहरूलाई समाजले हेर्ने दृष्टिकोण र उनीहरूको परिचय दिने शैलीले उनीहरूलाई असहज बनाउने गरेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी एक व्यक्तिले लेखेका छन्, ‘जब कसैले अरूलाई मेरो परिचय दिँदा ‘यो व्यक्ति हाफ-जापानी हो’ भन्छ, मलाई निकै असहज महसुस हुन्छ ।’ तागुचीका अनुसार यस्तो संवेदनशील विषयलाई अझै पनि जापानी समाजले गम्भीरताका साथ लिएको छैन, जसले गर्दा पीडितहरूले दीर्घकालीन मानसिक समस्या भोग्नुपरिरहेको छ ।

ह्योगो प्रान्तकी ३० वर्षकी एक महिलाको अनुभवले यो जोखिमलाई प्रस्ट पार्छ । उनी २० वर्षको उमेरमा छँदा उनका प्रेमीले साथीहरूसँगको भेटघाटमा ‘यसको बुबा त जाइनिची कोरियन (जापानमा लामो समयदेखि बस्दै आएका कोरियाली मूलका बासिन्दा) हुन्’ भनी सार्वजनिक गरिदिएका थिए । ‘त्यो सुनेपछि मलाई सबै कुरा सकिएझैँ लाग्यो,’ ती महिलाले भनिन्, ‘मानिसहरूले मलाई पूर्वाग्रही आँखाले हेर्न थाल्नेछन् भन्ने डरले म निकै विक्षिप्त बनेकी थिएँ ।’

कावासाकी सहरस्थित बहुसांस्कृतिक विनिमय केन्द्रकी निर्देशक चोइ काङ इजाले पनि विभेदकै डरले धेरै वर्षसम्म आफ्नो पहिचान लुकाउनुपरेको सुनाइन्। उनी स्वयं तेस्रो पुस्ताकी जाइनिची कोरियन हुन् । उनले भनिन्, ‘धेरै कोरियाली महिलाहरू अझै पनि आफ्नो जातीय पहिचानलाई ‘चिहानसम्मै लैजाने’ (कसैलाई नभन्ने) सङ्कल्प गर्छन्, किनभने समाजमा रहेको पूर्वाग्रहले उनीहरूमा गहिरो त्रास पैदा गरेको छ ।’

कानुनी विज्ञहरूका अनुसार कसैको पारिवारिक पृष्ठभूमि उसको इच्छा विपरीत सार्वजनिक गर्नु व्यक्तिगत अधिकार र गोपनीयताको गम्भीर उल्लंघन हो । ओसाका युनिभर्सिटी अफ इकोनोमिक्सका संवैधानिक कानुनका प्रोफेसर नाओजो कोबायासी भन्छन्, ‘कसैको मूल वा वंश उजागर गर्नु गोपनीयताको अधिकारको हनन हो र यो देवानी कानुन अन्तर्गत दण्डनीय ‘अपकृत्य’ ठहरिन सक्छ ।’

जापानी अदालतहरूले पनि यस्ता मुद्दामा गोपनीयताको पक्षमा फैसला सुनाउन थालेका छन् । एक कोरियाली बासिन्दाले आफ्नो रोजगारदाताले ‘एलियास’ (जापानी नाम) को सट्टा वास्तविक नाम प्रयोग गर्न दबाब दिएको विरुद्ध हालेको मुद्दामा अदालतले व्यक्तिको राष्ट्रियता उसको अनुमति विना तेस्रो पक्षलाई भन्नु गोपनीयताको उल्लंघन भएको ठहर गरेको थियो ।

तपाईको प्रतिक्रिया