टोकियो – जापानको अन्तरिक्ष एजेन्सीले आगामी महिनाका लागि निर्धारित आफ्नो नवौँ ‘एच-३’ रकेटको प्रक्षेपण स्थगित गरेको छ । गत डिसेम्बरमा गरिएको आठौँ रकेटको प्रक्षेपण असफल भएपछि, त्यसको प्राविधिक कारण पत्ता लगाउन र आवश्यक अनुसन्धान गर्न यो निर्णय लिइएको हो ।
जाक्सा र रकेट निर्माण कम्पनी मित्सुबिसी हेभी इन्डस्ट्रिजले बुधबार एक संयुक्त घोषणा गर्दै प्रक्षेपण रोकिएको जानकारी दिएका हुन् । एजेन्सीका अनुसार अर्को प्रक्षेपण मिति भने हालसम्म तय गरिएको छैन । जापानको दक्षिण-पश्चिमी प्रिफेक्चर कागोसिमास्थित तानेगासिमा स्पेस सेन्टरबाट फेब्रुअरी १ मा यो रकेट प्रक्षेपण गर्ने कार्यतालिका थियो । नवौँ एच-३ रकेटले जापानी ‘ग्लोबल पोजिसनिङ सिस्टम’का लागि महत्वपूर्ण मानिएको ‘मिचिबिकी नं. ७’ उपग्रहलाई अन्तरिक्षमा लैजाने योजना थियो ।
यसअघि डिसेम्बर २२ मा गरिएको आठौँ एच-३ रकेटको प्रक्षेपण असफल भएको थियो । जाक्साले सो विफलताको कारण पत्ता लगाउन र त्यसले नवौँ तथा आगामी रकेटहरूमा पार्न सक्ने प्रभावको मूल्याङ्कन गर्न गम्भीर अनुसन्धान आवश्यक रहेको बताएको छ । प्रारम्भिक अनुसन्धान अनुसार, उपग्रहलाई सुरक्षित राख्ने बाहिरी आवरण (कभर) छुट्टिने क्रममा कम्पन र झट्का मापन गर्ने ‘एक्सलेरोमिटर’ले सामान्यभन्दा निकै उच्च रिडिङ देखाएको थियो । जाक्साले यही असामान्य प्राविधिक गडबडी नै विफलताको प्रमुख कारण हुन सक्ने अनुमान गरेको छ ।
जापानले नवौँ रकेटपछि मार्च २०२७ सम्ममा कम्तीमा थप पाँचवटा एच-३ रकेट प्रक्षेपण गर्ने महत्त्वाकांक्षी योजना बनाएको छ । यद्यपि, हालको विफलताको अनुसन्धान र समस्या समाधानका उपायहरू कार्यान्वयन गर्न समय लागेमा निर्धारित योजनाहरू समेत प्रभावित हुन सक्ने सङ्केत देखिएको छ ।








