Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

टोकियो – जापानको महत्त्वाकांक्षी अन्तरीक्ष अभियानमा सोमबार ठुलो धक्का लागेको छ । मुलुकको आफ्नै भू-स्थान निर्धारण प्रणालीलाई सुदृढ बनाउन सातवटा भू-उपग्रह पठाउने लक्ष्यसहित प्रक्षेपण गरिएको ‘एच-३’ रकेट आफ्नो कार्यभार पुरा गर्न असफल भएको हो ।

जापानी विज्ञान मन्त्रालयका अनुसार सोमबार कागोशिमा प्रान्तस्थित तानेगाशिमा स्पेस सेन्टरबाट उडान भरेको केही समयमै रकेटको दोस्रो चरणको इन्जिन प्राविधिक कारणले बन्द भएको थियो । इन्जिन समयभन्दा अगाडि नै काटिएपछि यसले बोकेको छैटौँ भू-उपग्रहलाई निर्धारित कक्षमा पुर्‍याउन नसकिएको जापानी अन्तरीक्ष एजेन्सी ‘जाक्सा’ले जनाएको छ ।

जाक्सा अहिले यस असफलताको विस्तृत कारणबारे अनुसन्धान गरिरहेको छ । यो रकेटले ‘क्वासी-जेनिथ स्याटेलाइट सिस्टम’ अन्तर्गतको ‘मिचिबिकी’ नामक भू-उपग्रह बोकेको थियो । यो प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि जापानमा स्मार्टफोन र सवारी साधनको नेभिगेसनका लागि अत्यन्तै सटीक ‘पोजिसनिङ’ सेवा उपलब्ध हुने बताइएको छ । विशेषगरी सहरी क्षेत्रका अग्ला भवनहरूका बीच र हिमाली भेगमा यसले शतप्रतिशत कभरेज प्रदान गर्ने लक्ष्य राखिएको छ ।

यसअघि डिसेम्बर ७ का लागि तय गरिएको यो प्रक्षेपण रकेट र जमिनस्थित प्रणालीमा देखिएका केही असामान्य समस्याका कारण दुई पटक स्थगित भई सोमबारका लागि सारिएको थियो । जापानले अमेरिकी ग्लोबल पोजिसनिङ सिस्टमको कार्यक्षमता बढाउन र आफ्नै स्वतन्त्र प्रणाली विकास गर्न सन् २०१८ देखि चारवटा भू-उपग्रहहरू सञ्चालनमा ल्याएको थियो । यसै वर्षको फेब्रुअरीमा मिचिबिकी नं. ६ सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।

जाक्साको योजनाअनुसार अन्तरीक्षमा कुल ११ वटा यस्ता भू-उपग्रहहरू स्थापित गरिनेछ । यसले कुनै प्राविधिक समस्या आएको खण्डमा पनि प्रणालीलाई निरन्तरता दिन र एसिया तथा ओशिनिया क्षेत्रसम्म सेवा विस्तार गर्न मद्दत पुग्नेछ । सातवटा भू-उपग्रहको सञ्जाल बनेपछि जापानको आकाशमा हरसमय कम्तीमा एउटा उपग्रह रहने सुनिश्चित हुने एजेन्सीले जनाएको छ ।

तपाईको प्रतिक्रिया