Deneme Bonusu Veren Siteler
सोमवार, साउन ४, २०८३
Monday, July 20, 2026

टोकियो- कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण ‘च्याटजीपीटी’ प्रयोग गर्ने केही प्रयोगकर्ताले अब माथिल्लो भागमा विज्ञापन देख्न सुरु गर्ने भएका छन्। च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले विज्ञापन परीक्षण (ट्रायल) सुरु गर्न लागेको जनाएको हो। सुरुमा यो परीक्षण अमेरिकामा लागू हुनेछ र फ्री सेवा प्रयोग गर्ने केही प्रयोगकर्ता तथा नयाँ सब्स्क्रिप्सन टियर ‘च्याटजीपीटी गो’ का प्रयोगकर्तामा प्रभाव पर्नेछ। कम्पनीका अनुसार ‘च्याटजीपीटी गो’ विश्वभर उपलब्ध हुनेछ र यसको शुल्क मासिक ८ अमेरिकी डलर (अन्य देशमा स्थानीय मुद्राअनुसार) तोकिएको छ।

ओपनएआईले परीक्षण अवधिमा प्रयोगकर्ताले कुनै प्रश्न गरेपछि त्यससँग सम्बन्धित विज्ञापन देखिन सक्ने बताएको छ। उदाहरणका लागि, ‘मेक्सिकोमा घुम्न जाने ठाउँ’बारे सोध्दा यात्रासम्बन्धी विज्ञापन देखिन सक्छ। कम्पनीले सार्वजनिक गरेको स्क्रिनसटमा विज्ञापनहरू ब्यानर शैलीमा प्रस्तुत गरिएका छन्। यद्यपि, विज्ञापनले च्याटजीपीटीका उत्तरहरूमा कुनै प्रभाव नपर्ने र विज्ञापनदाता कम्पनीसँग प्रयोगकर्ताको कुराकानीको विवरण साझा नगरिने ओपनएआईको दाबी छ। कम प्रयोग सीमामै थप धेरै मानिसले सेवा उपयोग गर्न सकून् भनेर विज्ञापन मोडेलबारे परीक्षण गरिएको कम्पनीले स्पष्ट पारेको छ।

पछिल्लो समय एआई क्षेत्रमा लगानीकर्ताको ठूलो चासो देखिए पनि यसले अपेक्षित नाफा देखाउन नसकेको भन्दै ‘बबल’ फुट्न सक्ने चर्चा पनि बढ्दै गएको छ। एआई र डीपफेकसम्बन्धी विशेषज्ञ हेन्री एजदरले ओपनएआई विज्ञापनतर्फ जानु स्वाभाविक भएको टिप्पणी गरेका छन्। उनका अनुसार कम्पनीले पछिल्ला वर्षहरूमा प्रयोगकर्ता संख्या तीव्र रूपमा बढाए पनि अझै नाफामुखी बन्न सकेको छैन र लगानीकर्ताको रकममा निर्भर छ। फाइनान्सियल टाइम्सले सन् २०२५ को पहिलो ६ महिनामा ओपनएआई करिब ८ अर्ब डलर घाटामा सञ्चालन भएको र च्याटजीपीटीका ८० करोड प्रयोगकर्तामध्ये केवल ५ प्रतिशत मात्र पेड सब्स्क्राइबर रहेको रिपोर्ट गरेको छ।

ओपनएआईले यसअघि भारतमा ‘च्याटजीपीटी गो’ सुरु गरेको थियो र पछि अन्य मुलुकमा विस्तार गर्ने जनाएको छ। कम्पनीको प्लस र प्रो टियर अमेरिकामा क्रमशः २० डलर र २०० डलर प्रतिमहिना शुल्कमा उपलब्ध छन्। ओपनएआई सुरुमा गैरनाफामूलक संस्थाका रूपमा स्थापना भए पनि पछिल्लो समय व्यावसायिक मोडलतर्फ उन्मुख हुँदै गएको छ। विज्ञापनमार्फत आम्दानी गर्ने मोडल इन्टरनेट अर्थतन्त्रमा लामो समयदेखि प्रयोग हुँदै आएको भए पनि ओपनएआईका प्रमुख स्याम अल्टम्यानले एक समय विज्ञापनलाई ‘अन्तिम विकल्प’ भनेर आलोचना गरेका थिए। यता अन्य एआई कम्पनीहरू पनि विज्ञापनतर्फ आकर्षित भइरहेका छन् भने गुगलले आफ्नो ‘जेमिनी’ एआईमा विज्ञापन ल्याउने तयारी गरेको भन्ने समाचारलाई अस्वीकार गरेको छ।

तपाईको प्रतिक्रिया