
टोकियो- छ औंला भएका हात र विग्रिएको अनुहारको दृश्य अब इतिहास बनेको छ । एआई प्रविधिको तीव्र विकाससँगै अहिलेका भिडियोहरू यति यथार्थपरक बन्दै गएका छन् कि तिनले हलिउड, कलाकार र विज्ञापनदाताहरूलाई आकर्षित गर्दै सिर्जनात्मक उद्योगमा गहिरो असर पार्न थालेका छन् ।
एआई भिडियोको क्षमताको मूल्याङ्कन गर्न एक समय चर्चित क्लिप “विल स्मिथ स्प्यागेटी खाँदै“ हेर्न सकिन्छ । २०२३ मा सार्वजनिक भएको उक्त बनावटी भिडियोमा उनले खाने हाउभाउले गर्दा अनुहार अस्पष्ट, आँखा टाढा-टाढा, निधार अग्लो र चपाउने शैली अस्वाभाविक देखिन्थ्यो । तर हालै गूगलको Veo 3 प्लेटफर्ममा सार्वजनिक गरिएको संस्करणमा ती कमजोरीहरू प्रायः देखिनै छाडेका छन् ।
जर्जिया स्टेट विश्वविद्यालयकी प्राध्यापक एलिजाबेथ स्ट्रिकलर भन्छिन्, “हरेक हप्ता, कहिलेकाहीँ त हरेक दिन नै, पहिलाकोभन्दा अझ प्रभावशाली नयाँ संस्करण आउँछ।” केवल केही महिनाको अन्तरालमै Luma Labs को Dream Machine (जुन २०२४), OpenAI को Sora (डिसेम्बर २०२४), Runway AI को Gen-4 (मार्च २०२५) र Veo 3 (मे २०२५) जस्ता प्रणालीले एआई भिडियोमा क्रान्तिकारी फड्को मारेका छन् ।
यसबीच Runway AI ले Lionsgate Studios र AMC Networks सँग सम्झौता गरिसकेको छ । Lionsgate का उपाध्यक्ष माइकल बर्न्स का अनुसार, स्टुडियोले John Wick वा Hunger Games जस्ता चलचित्रहरूलाई परिवारमै हेर्न मिल्ने एनिमेटेड संस्करणमा रूपान्तरण गर्न एआईको प्रयोग गर्ने योजना बनाएको छ ।
Runway का क्रिएटिभ डाइरेक्टर जेमी उम्फर्सन भन्छन्, “एआई अब स्टोरीबोर्ड र प्रि-भिजुअलाइजेसनदेखि लिएर भिजुअल इफेक्ट र इनसर्ट क्लिप्स तयार गर्न समेत प्रयोग भइरहेको छ।”
बर्न्सले बताए अनुसार, पहिले करोडौं लागत लाग्ने हिउँपरेको स्थानमा १०,००० सैनिकसहितको १० सेकेन्डको क्लिप अहिले केही घण्टामै तयार गर्न सकिन्छ, जसले कथाको आवश्यकताबारे निर्णय लिन सहयोग पुर्याउँछ ।
२०२४ को अक्टोबरमा Where the Robots Grow नामक पहिलो पूर्ण एआई-निर्मित एनिमेटेड फिल्म रिलिज भएको थियो । Runway का सह-संस्थापक अलेजान्द्रो माटामाला ओर्टिज भन्छन्, “एआईले चलचित्र बनाउनु नै अन्तिम लक्ष्य होइन, तर यसले निर्माण टिमलाई सम्भावनाको झल्को दिन्छ।” *** समाचार ऐजेन्सीको सहयोग








