Deneme Bonusu Veren Siteler
शनिबार, साउन ९, २०८३
Saturday, July 25, 2026

लण्डन – विश्व अपांग दिवसको अवसरमा गुल्मी जिल्ला समाज युकेले प्रत्येक बर्ष बेलायतमा गर्दै आइरहेको च्यारिटी कार्यक्रम यस बर्ष पनि भब्य रुपमा सम्पन्न गरेको छ । अन्य सामाजिक कार्यका अलावा गुल्मी जिल्लामा संचालित आशा अपाङ्ग केन्द्रको सहयोगार्थ समाजले बर्षैपिच्छे यस्तो कार्यक्रम गर्दै आइरहेको छ ।
संस्थाका अध्यक्ष अर्जुन गौतमको अध्यक्ष्यतामा सम्पन्न छोटो औपचारिक कार्यक्रममा कार्यक्रमका संयोजक फडिन्द्र भट्टराईले स्वागत मन्तब्य दिएका थिए । बेलायतका लागि कार्यबाहक नेपाली राजदूत तेजबहादुर क्षेत्री, एनआरएन युकेका अध्यक्ष महेन्द्र कंडेल, एनआरएन युकेका महासचिव आरके त्रिपाठी लगायतले आफ्नो मन्तब्य राख्दै गुल्मी जिल्ला समाज युकेले बर्षेनी गर्दै आइरहेको परोपकारी कार्यको मुक्त कण्ठले प्रसंशा गरेका थिए । बक्ताको रुपमा सल्लाहकार मोतिराज भण्डारीले विश्व अपाङ्गता दिवसको सन्दर्भमा चर्चा गरेका थिए भने संस्थापक अध्यक्ष ओमप्रसाद थापाले आशा अपाङ्ग केन्द्रमा संकलित रकमको कसरी सदुपयोग गरिन्छ भन्ने कुरा बताएका थिए ।

महासचिव राम गलामी र सचिव शिब भण्डारीले संचालन गरेको औपचारिक कार्यक्रमको समापन गर्दै अध्यक्ष अर्जुन गौतमले सहयोगीहरु प्रति हार्दिक आभार ब्यक्त गरे । समापन पश्चात पनि उपस्थित सल्लाहकार लगायतको राय यथास्थानबाट लिईदा कार्यक्रम अन्तरक्रियामुखी बनेको थियो । संस्थापक अध्यक्ष ओम थापाले सोही कार्यक्रमको राफल चिट्ठामा आफुलाई परेको आईफोन आशा अपाङ्ग केन्द्र गुल्मीकी संचालिका गंगा रायमाझीलाई दिने घोषणा गरेका थिए ।

स्थानिय समाजसेवी, व्यवसायी गुल्मेली तथा गैर गुल्मेली नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा गायक सुजन पराजुलीले छोटो सांस्कृतिक प्रस्तुति दिए पश्चात सहभागीहरु आपसी गफगाफ, खानपिनका अलावा नाचमा पनि झुमेका थिए । कार्यक्रममा सम्मान, भाषण जस्ता औपचारिकताको न्यूनीकरणले गर्दा बिशुध्द मनोरन्जात्मक विशिष्टता झल्केको थियो |

माउन्टेन भ्यू रेस्टुरेन्ट चिजलहर्स्टमा आयोजित कार्यक्रममा सहभागीहरुले उपलब्ध खान पान र व्यवस्थापनको बिशेष प्रसंशा गरेका थिए | कार्यक्रमको अन्त्यमा सबै खर्च कटाएर करिब चार लाख नेपाली रुपैया बचत भएको जानकारी कोषाध्यक्ष टोप पल्लिले दिएका थिए । कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सल्लाहकार तथा क्षेत्रीय संयोजकहरुको सक्रिय उपस्थिति थियो ।

समाजले गत बर्ष गरेको च्यारिटी कार्यक्रमबाट संकलित पांच लाख रुपैया आशा अपाङग केन्द्र गुल्मी र सोलुखुम्बुको एउटा हेल्थ सेन्टरलाई प्रदान गरेको थियो । आशा अपाङग केन्द्र गुल्मी ग्रामिण अपाङगहरुको उपचार र पुनर्स्थापनामा क्रियाशिल छ । बाल्यकालमै आफ्नो दुवै खुट्टा गुमाएकी गङगा रायमाझीले दाताहरुको सहयोगमा केन्द्र सञ्चालन गरेकी छन । ***

तपाईको प्रतिक्रिया