दुबई – पर्वतवासीहरु एक हौ भन्ने मूल नाराका साथ आईपर्ने समस्याहरुको समाधान तथा पर्वत जिल्लावासीहरुलाई एकजुट गर्ने हेतुले सन् २०१३ मा स्थापना गरिएको पर्वत सेवा समाज युएइले गत शुक्रबारका दिन प्रथम बाषिकोत्सव मनाएको छ । स्थापना भएपछि एक बर्ष सफलतापूर्वक पूरा गरेको अवसरमा विविध साँस्कृतिक कार्यक्रमका साथ बाषिकोत्सव मनाईएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा पर्वत सेवा समाजका संरक्षक खिमानन्द भुर्तेल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता सोही समाजका अध्यक्ष मणिप्रसाद भुर्तेलले गर्नुभएको थियो । त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी र पत्रकारहरु रहेको कार्यक्रमलाई महासचिव पुरुषोत्तम सुवेदीले सञ्चालन गर्नुभएको थियो ।
नेपाली राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा सँस्थाका सचिव सरोज जिसीको शुभकामना मन्तव्य रहेको थियो । समाजको आर्थिक प्रतिवेदन कोषाध्यक्ष पर्शुराम पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
साँस्कृतिक कार्यक्रमको थालनी हरि डुम्रेले गाएको चर्चित गीत ’तिते करेलीले’ बाट भएको थियो । ’मायालु मैले तिमीलाई कति मन पराउछु’ भन्ने बिक्रम पौडेलको रोमान्टिक गीतले ठण्डीले भरिएको हललाई हल्का तताउन सुरु गरेको थियो । निकै मार्मिक गजलहरु सुनाउने निर्भित नारायण भुर्तेलले गाएको गीत ’पछौरी देउ बैना’ मा दर्शकहरु मज्जाले नाच्न समेत भ्याए ।
अनुप राना मगरले गाएको गीत ’नरोऊ मायालु तिमीलाई छोडी गए भने’ र ’लालु पाते फुल छैन रुख मात्रै’ पनि दर्शकले मन पराए । युएइको धेरै कार्यक्रमहरुमा आफ़्नो कुशल नृत्यहरु पस्किसकेकी शितल शान्तिले ’जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म’ भन्ने गीतमा नृत्य गरेर दर्शकहरुलाई मनोरञ्जन दिएको थियो । त्यसैगरी ज्ञानु आचार्यले गाएको लोकप्रिय गीत ’क्याम्पस पढ्न आउने सरले उता पढाउने’ पनि निकै सान्दर्भिक लाग्दथ्यो ।
सोही अवसरमा प्रथम उपाध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा दुइवटै मृगौला फेल भएका खानी गाउं-६, पर्वत जिल्लाका निवासी १८ बर्षी सन्तोष सापकोटाको उपचारका लागि एक लाख सन्ताउन्न हजार तीन सय रुपैयां संकलन गर्नमा आर्थिक सहयोग गर्नेहरुलाई अध्यक्ष भुर्तेल र प्रथम उपाध्यक्ष अधिकारीले खादा र टिका लगाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा समाजलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । सो अवसरमा शुभकामना व्यक्त गर्नेहरुमा सरोज जिसी, भीम अधिकारी, राजु खड्का, पिताम्बर पाण्डे, प्रकाश कोइराला, चन्द्र रोका, लक्ष्मण भण्डारी, हेमन्त पौडेल, चन्द्रप्रसाद सापकोटा, खिमानन्द भुर्तेल र मणिप्रसाद भुर्तेल रहनुभएको थियो । ***















