Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो – जापानको राजधानी टोकियो नजिकै पर्ने चिबा प्रान्तको याचिमाता सहरमा भएको भीषण आगलागीमा परी चार जनाको ज्यान गएको छ । आगोले एउटा दुईतले काठको घर पूर्ण रूपमा नष्ट गरेको र भग्नावशेषभित्र चारवटा शव फेला परेको स्थानीय अग्नि नियन्त्रक र प्रहरीले पुष्टि गरेका छन् ।

मध्यरात करिब १२:०५ बजेतिर स्थानीय एक बासिन्दाले ‘धुवाँ र आगोको लप्का निकै भयानक देखिएको’ भन्दै आपत्कालीन नम्बर ११९ मा फोन गरेका थिए । करिब १३० वर्गमिटर क्षेत्रफलमा फैलिएको सो काठको घरमा लागेको डढेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टा लागेको थियो ।

साकुरा प्रहरी स्टेशनका अनुसार फेला परेका चारैजना वयस्कहरूको शवको लिङ्ग र उमेर अझै खुल्न सकेको छैन । ती शवहरू घरको भुईँतलाको विभिन्न भागमा भेटिएका थिए; एकजना भान्छामा, दुईजना बैठक कोठामा र एकजना करिडोरमा फेला परेका हुन् ।

स्थानीय बासिन्दाहरूका अनुसार उक्त घरमा एक वृद्ध दम्पती र उनीहरूका वयस्क छोरा र छोरी गरी चारजना बस्ने गर्दथे । घटनास्थल नजिकै बस्ने ७० वर्षकी एक महिलाले झ्याल खुला राखेर सुतिरहेका बेला ‘अनौठो गन्ध’ आएको र केही समयमै विष्फोट जस्तो ‘पप’ आवाजसहित घर दन्किएको सुनाइन् ।

उनका ७० वर्षीय पतिले भने, ‘त्यसबेला हावा चलेको थिएन तर आगोको ज्वाला निकै माथिसम्म पुगेको थियो । जलेका अवशेषहरू उडेर हाम्रै घरतिर आइरहेका थिए, जसले गर्दा आगो अरूतिर पनि फैलिने हो कि भन्ने ठूलो डर भयो ।’

टोलबासीहरूले सो घरका मुली (वृद्ध बुबा) लाई एक सिपालु सिकर्मी र भद्र व्यक्तिका रूपमा सम्झिएका छन् । ‘उहाँ निकै असल र मिजासिलो मान्छे हुनुहुन्थ्यो, हाम्रै टोलको सामुदायिक भवन पनि उहाँले नै बनाइदिनुभएको हो,’ एक छिमेकीले भावुक हुँदै बताए ।

प्रहरीले हालसम्म यस घटनामा कुनै आपराधिक संलग्नताको सङ्केत नपाइएको र आगलागीको वास्तविक कारण पत्ता लगाउन सुक्ष्म अनुसन्धान सुरु गरिएको जनाएको छ । शवहरूको आधिकारिक पहिचान र मृत्युको कारण पुष्टि गर्न ‘पोष्टमार्टम’ गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया