आन्त्वारपे – गत आईतवार बेल्जियमको आन्त्वारपेनमा आयोजित एक भेलाले नेपाली उत्पीडित जातीय समाज गठन गरेको छ । नेपालमा अहम् मनुवादी हिन्दु वर्णवादी विभेदकारी राज्यसत्ताद्धारा जातीय छूवाछूत, विभेद, राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक र विविध पक्षमा चरम शोषणको चपेटामा परी विदेशिन विवश बेल्जियमवासी दलित समुदायको भेलाले समिति गठन गरेको हो ।
सो भेलाले चित्रबहादुर सिंह सुनारको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । सन् २५ फेवु्अरी २००७ मा गठित तत्कालिन नेपाली दलित समाजले वेल्जियम बसाईका क्रममा विविध कठिनाई कारण गति लिन नसकेको अवस्था र हालसालै यूरोपमा रहेका सम्पूर्ण नेपाली उत्पीडित जातीहरु एकीकृत हुन गठन गरिएको नेपाली उत्पीडित जातीय समाज, यूरोपको उद्देश्यसँग ऐक्यवद्धता जनाउदै तत्कालिन समयमा नेपाली दलित समाजले उत्पीडितहरु गोलवन्द हुन गरेको प्रयासको भेलाले उच्च सम्मान गरेको छ ।
चित्रबहादुर सिंह सुनारको अध्यक्षतामा गठित तदर्थ समितिमा राजाराम पोखरेल सुनार, कर्णबहादुर विक, कृष्ण सुनार, पर्मलाल विक, अर्जुन विक, सरस्वती नेपाली, वासु विक, सुवेन्द्र रामदाम, निर्मला परियार रहेका छन् । आगामी भेलाले बाँकी थप ५ सदस्यहरुका साथै पदाधिकारीहरु चयन गर्नेछ । भेलाले सल्लाहकारमा तेजबहादुर नेपाली, योगेन्द्र विक र ज्ञानबहादुर विकलाई चयन गरेको छ । नेपाली उत्पीडित जातीय समाज, यूरोपका केन्द्रीय सल्लाहकार योगेन्द्र विकको प्रमुख अतिथि तथा पर्मलाल विकको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । कार्यक्रममा विशेष मन्तव्य दिदै तेजबहादुर नेपालीले संविधान सभाको दोश्रो निर्वाचनमा यथास्थितिवादी र अहम् हिन्दू वर्णवादीहरुको वाहुल्यता रहेकाले अव वन्ने संविधानमा उत्पीडित जातीहरुको पक्षमा संविधान वन्नेमा शंका व्यक्त गर्दै नेपालका दलित उत्पीडित, सीमान्तकृत अल्पसंख्यक पीछडावर्ग, जनजाति तथा मुस्लिमहरुले अव वन्ने संविधानमा भ्रष्ट्रचारमुक्त आरक्षणसहितको समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि सवैले ऐक्यवद्धता जाहेर गर्नुपर्ने धारण व्यक्त गरेका थिए ।
मन्तव्यका क्रममा सवैले आफ्नो विचार राख्दै विदेशमा रहेर पनि नेपालमा जातीय उत्पीडनका विरुद्ध गोलवन्द भएकोमा खुसी व्यक्त गरेका थिए । उपस्थित सवैले नवगठित समितिका अध्यक्ष चित्रबहादुर सिंह सुनारलाई हार्दिक वधाई ज्ञापन गर्दै सिंगो समितिको कार्य सफलताको कामना गरेका थिए ।***








