आबुधावी – संयुक्त अरब इमिरेट्समा एक पछि अर्को गर्दै नेपाली व्यवसायीहरुले व्यवसाय गर्ने क्रम बढ्दो छ । यसैक्रममा युएईको राजधानी आबुधावी स्थित साविया नौ भन्ने स्थानमा एउटा नेपाली रेष्टुरेण्ट हिजोबाट सञ्चालनमा आएको छ ।
चार जना नेपालीहरु टिकेन्द्र बुढाथोकी, मिलन खत्री, पल्लभ घिमिर र डिबी र्कीको संयुक्त लगानिमा उक्त रेष्टुरेण्ट सञ्चालमा ल्याइएको हो । एभरेष्ट प्वाइन्ट रेष्टुरेण्ट नामको उक्त रेष्टुरेण्टमा नेपाली समुदायका विशिष्ट नेपाली परिकारहरु बनाइने व्यवसायी मिलन खत्री बताउंछन ।
बैदेशिक रोजगारीको केन्द्र बन्दै गइरहेको देश युएईमा नेपाली कामदारको संख्या बृद्धि हुने क्रम बढिरहेको र नेपाली खानाहरुको व्यवसाय राम्रो हुने व्यवसायीहरु बताउछन । स्वदेशमा व्यवसाय सञ्चालन नगरेर युएईमा किन व्यवसाय सुरुवात गरियो भन्ने प्रश्नमा स्वदेशको राजनैतिक अवस्थाले गर्दा नेपालमा सुरक्षित व्यसाय गर्न नसकिने बताउदै नेपालको राज्य व्यवस्थाले हामी जस्ता केही गर्न चाहने नेपालीलाई आकर्षण गर्ने बतावरण बनोस्, भविष्यमा नेपालमै केहि गर्ने उद्देश्य रहेको व्यवसायी टिकेन्द्र बुढाथोकीले बताए । ***








