सोउल-नेवाः पुचः दक्षिण कोरियाको आयोजनामा हालै “रमाइलो पिकनिक” कार्यक्रम सम्पन्न भएको छ ।
नेवारी तथा नेपाली कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न खेलकूद, गायन प्रतियोगिता तथा नृत्य प्रदर्शनी गरिएको थियो । कार्यक्रममा नेपालीका साथसाथै नेवारी परिकारहरूको पनि व्यवस्था गरिएको थियो । पिकनिक कार्यक्रममा ५० जना भन्दा बढी नेपालीहरूको सहभागिता रहेको थियो ।
पिकनिक कार्यक्रम देछन् हेसुयोकजाङ्गको देचन मद् छुक्चेमा भएको थियो । उक्त कार्यक्रममा सहभागीहरूले धित मरून्जेल हिलोमा खेलेर मनोरञ्जन लिएका थिए । पिकनिकमा सहभागी भएकी सुनसरी जिल्ला धरान नगरपालिका ८ की पुनम तामाङले विदेशमा रहेर पनि नेपालीहरूको जमघटमा सहभागी हुन पाउँदा निकै खुशी लागेको कुरा बताईन ।
त्यसैगरी करीव ३ महिना अघि कोरिया आएका भक्तपुर झौखेलका रामप्रसाद कासुला कोरिया आउँना साथ यतिधेरै नेपालीहरूको जमघटमा सामेल हुन पाउँदा निकै हर्षित भइन । नेपालीहरूसँगै बसेर नेवारी खाना खान पाउँदा झल्झली नेपाल सम्झेको कुरा बताइन । पहिलो पटक समुद्र देखेका कासुलाले हिलो र पानीमा खेल्न समय नपुगेको बताए ।
पिकनिकलाइ कार्यक्रमलाई मनोरन्जनात्मक बनाउन गाडीमा नै गायन प्रतियोगिताको आयोजना गरिएको थियो । १२ जना प्रतियोगीहरूले सहभागीता जनाएको उक्त कार्यक्रममा अरूण श्रेष्ठले प्रथम स्थान हासिल गरेका थिए भने दोस्रो स्थान उज्जवल कर्माचार्यले हात पारे । अन्तिम राउन्डमा छानिएका कर्माचार्य र श्रेष्ठलाइ सहभागीहरूको मतको आधारमा पहिलो र दोस्रो घोषणा गरिएको थियो ।
एकदिन भए पनि परदेशको व्यस्त, न्यास्रोलाग्दो र परिवारबाट छुटिएर बस्नु परेको पीडालाई बिर्साएको महसुस गरेको नेवा पुचका अध्यक्ष नबीन बज्राचार्यले बताए । साथै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाइ धन्यबाद पनि व्यक्त गरे । ***














