टोकियो – अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष गीता खत्रीले हाम्रो भाषालाई जीवन्त राख्न साहित्य सवल हुनुपर्ने बताउनुभएको छ । उहाँले डायस्पोरामा रहेका दोश्रो पुस्ताका नेपालीहरुमा हाम्रो भाषा, सँस्कृति र साहित्य हस्तान्तरण गर्ने काम चुनौतीपूर्ण बन्दै गएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । ‘दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुमा हाम्रो भाषा, साहित्यप्रति रुची जगाउने काम हुन सकेको छैन यो ठूलो चुनौती बन्दै गईरहेको छ, त्यसैले पनि हाम्रो साहित्य सवल हुन आवश्यक छ’ – उहाँले बताउनुभयो ।
अध्यक्ष खत्रीको सम्मानमा आइतवार टोकियोमा आयोजित एक साहित्यिक कार्यक्रममा बोल्दै उहाँले उक्त बिचार ब्यक्त गर्नुभएको हो ।
बिश्वभरि छरिएर रहेका साहित्यकार एवं साहित्यप्रेमीहरुलाई एकाकार गराउँदै नेपाली साहित्यको श्रीबृद्धि गर्ने काममा अनेसास कटिबद्ध रहेको बताउँदै उहाँले अगाडि भन्नुभयो – ‘डायस्पोरिक साहित्यिक अभियानमा अनेसास जापान च्याप्टरको भूमिका अग्रणी छ र आगामी दिनहरुमा पनि यो भूमिका अझ सशक्त बन्दै जानेछ भन्ने बिश्वास लिएकी छु ।’
‘डायस्पोरामा रहेका नेपालीहरुको पहिलो पुस्ताले नेपाली भाषा र साहित्य बुझेको छ समस्या दोश्रो पुस्तामा छ, उनीहरुमा हाम्रो भाषा र साहित्यप्रति रुची जगाउन सकिएको छैन, यो अहिलेको चुनौती हो’ उहाँले भन्नुभयो । नेपाली बालबालिकाहरुलाई हाम्रो भाषा र अपनत्व सिकाउन अमेरिकाको न्यूयोर्कमा नेपाली भाषी पाठशाला खोलिएको प्रसंग पनि उहाँले सुनाउनुभयो ।
अनेसास जापान च्याप्टरको आयोजनामा आइतवार टोकियोमा बिशेष भेटघाट तथा साहित्यिक अन्तरक्रिया कार्यक्रम भएको हो । च्याप्टरका अध्यक्ष प्रकाश पौडेल माईलाको सभापतित्वमा भएको सो कार्यक्रममा थुप्रै स्रष्टाहरुले आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियो भने वक्ताहरुले डायस्पोरामा नेपाली साहित्य र यसको बिकासक्रमका बारेमा आ-आफ़्ना अभिब्यक्ति राख्नुभएको थियो ।
बोल्ने वक्ताहरुमा एनआरएन जापानमा अध्यक्ष ओम गुरुङ, पत्रकार नारायण तिवारी, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ लगायतका हुनुहुन्थ्यो । वक्ताहरुले जापानमा एउटा पुस्तकालयको आवश्यकताप्रति ध्यानाकर्षण गराउँदै अनेसास जापानले यसको अग्रसरता लिनुपर्नेमा जोड दिनुभएको थियो ।
यसैगरी आ-आफ्ना सिर्जना वाचन गर्ने स्रष्टाहरुमा आलोक चालिसे, श्रवण सत्याल, महेशकुमार श्रेष्ठ, दिनेशराज ज्ञवाली, बालस्रष्टा आयुषा चालिसे, सीता आचार्य, तेज अर्याल, पुष्करजंग थापा, सुष्मा ओमाता, राजेन्द्र जम्मरकट्टेल, ध्रुबकुमार थापालगायतका हुनुहुनथ्यो । स्रष्टा सत्यालले पूर्वराजा ज्ञानेन्द्र, नेका वरिष्ठ नेता शेरबहादुर देउवा र राष्ट्रपति डा. रामवरण यादवको भाषणको नक्कल गरेर हसाउनु भएको थियो भने बालस्रष्टा आयुषा चालिसेले ‘सयौं थुंगा फूलका हामी ……’ राष्ट्रियगान गाएर सबैलाई चकित पारेकी थिईन् ।
कार्यक्रमको प्रारम्भमा उपस्थित महानुभावहरुलाई सितार समाजकी अध्यक्ष सुष्मा ओमाताले स्वागत मन्तब्य राख्नुभएको थियो भने अनेसास जापानका सल्लाहकार समेत रहनुभएका पत्रकार भूषण घिमिरेले बिषय प्रवेश गराउनुभएको थियो ।
यसैगरी अनेसास केन्द्रबाट आउनुभएका राम खत्रीले अमेरिकामा हुने साहित्यिक गतिविधिका बारेमा जानकारी गराउनुका साथै अनेसास केन्द्रको साहित्यिक अभियानमा आफ्नो अनुभव सुनाउनुभएको थियो ।
यसैगरी अनेसास जापानका सल्लाहकार समेत रहनुभएका नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्लले जापानमा नेपाली साहित्यको ऐतिहासिक पृष्ठभूमि र बिकासक्रम बारे जानकारी गराउनुभएको थियो ।
त्यसपछि कार्यक्रम अन्तरक्रियात्मक चरणमा प्रवेश गरेको थियो । ‘डायस्पोरामा नेपाली साहित्य र बिकासक्रम’ बिषयक अन्तरक्रियामा सहभागीहरुले आ-आफ्ना जिज्ञासाहरु राखेका थिए भने प्रमुख अतिथि गीता खत्रीले जिज्ञासाहरु मेटाउने प्रयास गर्नुभएको थियो ।
अन्तरक्रियामा सहभागीहरुले अनेसास केन्द्र र शाखाहरुबिच नियमित सम्पर्क र समन्वय हुन नसकेको जसले गर्दा केन्द्रको गतिबिधि र शाखाहरुको गतिबिधिबारे जानकारी आदानप्रदान हुन नसक्दा समस्या उत्पन्न हुने गरेकोले यसलाई यथाशिघ्र सच्याउनुपर्ने सुझाव दिएका थिए । यसैगरी अनेसासको शाखाहरु बिश्वभरि संख्यात्मकरुपमा बृद्धि भईरहेको भएपनि त्यसको गुणात्मक बिकासमा ध्यान नदिईएको, सूचीकृत एवं अनुगमन हुन नसकेको सन्दर्भमा उचित ब्यवस्थापनका लागि अनेसास केन्द्रको बिधानमा यसको संरचनाबारे स्पष्ट पारिनुपर्नेमा जोड दिईएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गीता खत्रीले पनि कविता सुनाउनुभएको थियो ।
अन्तमा, आफ्ना केहि हाईकुहरु सुनाउँदै सभापति प्रकाश पौडेल माईलाले बिशेष साहित्यिक भेटघाट र अन्तरक्रिया कार्यक्रमको समापन गर्नुभएको थियो । यसअघि उहाँले अनेसास केन्द्रकी अध्यक्ष गीता खत्रीज्यूको समुस्थितिमा जापानमा साहित्यिक कार्यक्रम गर्न पाएकोमा जापान च्याप्टरले गौरवानुभूति गरेको विचार ब्यक्त गर्नुभयो ।
स्रष्टा पिताम्बर चापागाईँ (पदमपाणि) ले बिचबिचमा आफ्ना रोचक सिर्जनाहरु वाचन गर्दै साहित्यिक शैलीमा उक्त बिशेष साहित्यिक भेटघाट सहितको अन्तरक्रिया कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । **** 













