जुरिच – स्वीट्जरल्याण्डको जुरिचमा जारी गैर आवासीय नेपाली संघ छैठौं य्रुरोपियन क्षेत्रीय भेला तथा चौथो महिला क्षेत्रीय कन्फरेन्समा नेपालका बाढी पीडितका लागि एकै दिनमा करिब ६० लाख नेपाली सहयोग उठेको छ ।
हालै मात्र दैवी विपत्तीको चपेटामा परेको नेपालमा बाढी पहिरोका कारण हजारौं मानिसहरु प्रभावित हुनुका साथै करोडौंको क्षति पुगेको छ । उक्त बाढी पीडितको सहयोगार्थ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले सम्पूर्ण एनआरएनहरुमा आर्थिक सहयोगको लागि अपील गरेको छ । सोही अपील अनुसार जुरिचमा जारी उक्त सम्मेलनमा सहभागी एनआरएन आईसिसी पदाधिकारीहरु, एनसिसी पदाधिकारीहरु, विभिन्न व्यक्तित्वहरु तथा एनसिसीहरुका तर्फबाट समेत गरी करिब ६० लाख नगद संकलन भएको हो ।
कार्यक्रमको च्यारिटी सत्रमा भएको छलफलका क्रममा आईसिसीका तर्फबाट अध्यक्ष जिबा लामिछानेले सहयोगको लागि आग्रह गर्नु भएपछि सम्पूर्ण दाताहरुले उक्त सहयोगको उदघोषण गर्नुभएको हो । नेपालका बाढी पीडितको सहयोगका लागि यो अभियान निरन्तर रहने र बाढी
पीडितको सहयोगार्थ सहयोग रकम उठ्ने क्रम अझै जारी रहेको अध्यक्ष जिबा लामिछानेले बताउनु भयो । ***








