मस्को-रसियाको मस्कोको बाहिरी भागमा अवस्थित रामेन्स्कोय आवासीय क्षेत्रमा रहेको एक मानसिक अस्पतालमा आगलागी हुँदा कम्तीमा ३८ व्यक्तिको मृत्यु भएको र तीमध्ये प्रायः बिरामी परेको अधिकारीहरूले बताएका छन् । उक्त आगो एकतले अस्पतालमा स्थानीय समय अनुसार बिहानको ३:०० बजे आरम्भ भएको र विद्युतको गडबडी त्यसको कारण भएको रसियाली समाचार संस्था आरआईए नोभोस्तीले प्रहरीलाई उद्धरण गरी आफ्नो समाचारमा उल्लेख गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता ओलेग सालागेले ३८ व्यक्तिको मृत्यु भएको र त्यसमा दुर्इ स्वास्थ्यकर्मी रहेको जानकारी दिए । आगलागीको समयमा उक्त भवनमा ४१ व्यक्ति रहेको र एक नर्सले दुर्इ विरामीलाई भने बाहिर लान सकेको बताइएको छ । अग्नि नियन्त्रकहरूले १२ व्यक्तिको शव फेला पारेको इतार तास समाचार संस्थाले उल्लेख गरेको छ । चार व्यक्तिलाई अस्पतालको ढोकामा र अन्यलाई वार्डमै फेला पारिएको उल्लेख गरिएको छ । मानसिक रोगी भाग्न नपाउन् भनी अस्पतालले आफ्नो झ्यालमा बार लगाएको थियो । धेरै व्यक्तिको शव उनीहरूको बेडमै फेला परेको बताइएको छ । गम्भीर मानसिक रोगी, मदिरा सेवनकर्ता, लागुपदार्थ दुर्व्यसनी उक्त अस्पतालमा रहेको चिकित्सकहरूले बताए । आगो नियन्त्रणमा लिइए पनि अस्पतालको भवन पूर्ण रूपमा जलेको बताइएको छ । उक्त अस्पतालमा रहेका बिरामीको उमेर २० देखि ७६ वर्षम्मको रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार








