Deneme Bonusu Veren Siteler
मङ्लबार, असार १६, २०८३
Tuesday, June 30, 2026

टोकियो – नेपाली राजनीतिमा एउटा उखान छ- ‘संकटले शत्रुलाई पनि मित्र बनाउँछ ।’ आइतबार जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा ठ्याक्कै यही दृश्य देखियो । कुनै समय ‘पानी बाराबार’ को स्थितिमा रहेका, एक-अर्कालाई ‘प्रतिगामी’ र ‘गद्दार’ को बिल्ला भिराएका कम्युनिष्ट नेताहरू एउटै मञ्चमा मात्रै देखिएनन्, उनीहरूबीच पार्टी एकताका लागि अभूतपूर्व ‘व्यग्रता’ पनि प्रकट भयो ।

२०७४ सालको निर्वाचनमा झण्डै दुई-तिहाइको दम्भ बोकेको तत्कालीन ‘नेकपा’ आज स-साना टुक्रामा विभाजित भएर रक्षात्मक अवस्थामा पुगेको छ । जनमतले किनारा लगाएपछि र नयाँ शक्तिहरूको उदयले अस्तित्व नै संकटमा पारेपछि फेरि एकपटक ‘वाम एकता’को पुरानो बाँसुरी बज्न थालेको छ । तर, यो एकता वैचारिक आवश्यकता हो कि राजनीतिक अस्तित्व जोगाउने ‘अन्तिम अस्त्र’, यतिबेला बहसको केन्द्रमा छ ।

तथ्यांकलाई हेर्ने हो भने कम्युनिष्टहरूको यो ‘प्रेम’ को कारण छर्लङ्ग हुन्छ । २०७४ मा एमाले (१२१ सिट) र माओवादी (५३ सिट) मिल्दा मुलुकमा कम्युनिष्ट अधिनायकत्वको चर्चा चुलिएको थियो । तर, अहंकार र आन्तरिक कलहले त्यो शक्तिशाली डुङ्गा यसरी फुट्यो कि गत निर्वाचनमा एमाले २५ र नेकपा (प्रचण्ड-माधव नेतृत्व) १७ सिटमा खुम्चिन पुगे ।

जनताले दिएको यो ‘दण्ड’ नै आइतबारको मञ्चमा नेताहरूलाई भावुक र आत्मसमीक्षात्मक बनाउने मुख्य कडी थियो । संसद्मा सानो उपस्थिति र राज्यसत्तामा गुम्दै गएको वर्चस्वले उनीहरूलाई एउटै डालोमा पस्न बाध्य पारेको देखिन्छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यो एकताको प्रस्ताव केवल चुनावी हारको परिणाम मात्र होइन । हाल सत्ताको बागडोर सम्हालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना दल र नेताहरूमाथि सुरु गरेको भ्रष्टाचारको ‘फाइल’ र पक्राउको सिलसिलाले उनीहरूलाई त्रसित बनाएको छ । ‘निरङ्कुशता र फासीवाद’को नाम दिएर प्रचण्डले जुन ‘छिटो एकता’ को प्रस्ताव गरे, त्यसको भित्री मनसाय सम्भावित कानुनी फन्दाबाट जोगिने ‘सुरक्षा कवच’ निर्माण गर्नु पनि हुन सक्छ ।आफ्नो गल्ती कहिल्यै स्वीकार नगर्ने छवि बनाएका एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार अलि ‘हल्का’ सुनिए । उनले ‘हाम्रा कमी-कमजोरी रहे, आत्मसमीक्षा गरौँला’ भन्नु नै उनका लागि ठूलो यू-टर्न हो । ‘हामी मरेका छैनौँ, धुलो टक्कयाउँदै उठ्छौँ’ भन्ने उनको उद्घोष कार्यकर्तालाई ढाडस दिने प्रयास भए पनि उनीभित्रको असुरक्षा भाव प्रस्टै झल्किन्थ्यो ।

अर्कोतिर, सधैँ ‘क्रमभङ्ग’ को राजनीति गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सबैभन्दा बढी हतारोमा देखिएका छन् । ‘आजै गरौँ, ढिलो गर्नु गल्ती हुन्छ’ भन्ने उनको अभिव्यक्तिले उनी आफ्नो राजनीतिक विरासत सुरक्षित गर्न एमालेको छहारी खोजिरहेको हुनसक्ने विश्लेषण हुन थालेको छ ।

यसपटकको मञ्चमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति र उनले दिएको ‘ठोस समीक्षा’ को सुझाव अर्थपूर्ण छ । कतिपयले उनलाई एकीकृत कम्युनिष्ट पार्टीको भावी ‘गार्जियन’ वा नेतृत्वका रूपमा हेर्न थालेका छन् । उनले निर्वाचनको परिणामलाई कार्यशैली सुधार्ने अवसरका रूपमा व्याख्या गर्दै नेताहरूलाई अत्तालिएर होइन, सच्चिएर अघि बढ्न सुझाव दिइन् ।

नेताहरू मञ्चमा अङ्गालो हाल्दै गर्दा भुईँतहका कार्यकर्ता र आम जनता भने सशङ्कित छन् । सामाजिक सञ्जालमा उत्तम वाइबा जस्ता कार्यकर्ताको आक्रोशले नेतृत्व र जनताबीचको ठूलो खाडल उजागर गर्छ । कार्यकर्ताहरूको एउटै गुनासो छ- ‘स्वार्थ मिल्दा एकता, स्वार्थ नमिल्दा फुट ।’

पुराना र पटक-पटक परीक्षण भएका नेताहरूले ‘त्याग’ को घोषणा गरेर नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुको साटो फेरि आफैँ कुर्सीमा बस्न एकताको कार्ड खेल्नुले कार्यकर्तामा उत्साहभन्दा बढी वितृष्णा जगाएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलन यतिबेला इतिहासकै कठिन मोडमा छ । आइतबारको ‘वाम अलाप’ वैचारिक एकता भन्दा पनि अस्तित्व रक्षाको ‘छाता’ जस्तो बढी देखिन्छ । यदि नेताहरूले साँच्चै धुलो टक्कयाएर उठ्न खोजेका हुन् भने उनीहरूले आफ्ना ‘सिङ र जुरो’ मात्र होइन, ‘अहंकार र स्वार्थ’ पनि त्याग्नुपर्नेछ । अन्यथा, स्वार्थका लागि गरिने यस्ता एकताका प्रयासहरू बालुवाको महल जस्तै हुनेछन्, जो अर्को एउटा चुनावी हुरीले सजिलै ढालिदिनेछ ।

तपाईको प्रतिक्रिया