टोकियो – जापानको पर्यटकीय सहर क्योटोस्थित मुख्य रेल स्टेशनमा स्थानीय रेल लिकबाट बाहिरिएर दुर्घटनाग्रस्त भएको छ । करिब ३० जना यात्रु सवार रहेको उक्त रेल दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको रेल सञ्चालक कम्पनीले जनाएको छ ।
‘किन्तेचु रेलवे’का अनुसार कासिहाराजिङ्गु-माएतर्फ गइरहेको ‘किन्तेचु क्योटो लाइन’को चार डिब्बा भएको उक्त रेल बिहान ५:१५ बजे दुर्घटनामा परेको थियो । क्योटो स्टेशनबाट प्रस्थान गरेको करिब १२० मिटरको दूरीमा लिक परिवर्तन गर्ने ठाउँ पार गर्ने क्रममा रेलका डिब्बाहरू लिकभन्दा बाहिर पुगेका थिए ।
रेल गुडिरहेकै बेला केही असामान्य महसुस भएपछि चालकले तुरुन्तै रेल रोकेका थिए । पछि जाँच गर्दा रेलको दोस्रो र तेस्रो डिब्बा आंशिक रूपमा लिकबाट बाहिरिएको र डिब्बाहरू जोड्ने भाग एकातर्फ मोडिएको भेटिएको थियो । रेल एउटा ओभरपास (पुल) मा रोकिएकाले सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको यातायात मन्त्रालयमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।
दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन । ‘जापान यातायात सुरक्षा बोर्ड’ले घटनाको विस्तृत अध्ययनका लागि दुईजना विशेषज्ञ दुर्घटना अनुसन्धानकर्ताहरूलाई घटनास्थलमा खटाएको छ ।








