टोकियो – नेपाली राजनीतिमा एउटा उखान छ- ‘संकटले शत्रुलाई पनि मित्र बनाउँछ ।’ आइतबार जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा ठ्याक्कै यही दृश्य देखियो । कुनै समय ‘पानी बाराबार’ को स्थितिमा रहेका, एक-अर्कालाई ‘प्रतिगामी’ र ‘गद्दार’ को बिल्ला भिराएका कम्युनिष्ट नेताहरू एउटै मञ्चमा मात्रै देखिएनन्, उनीहरूबीच पार्टी एकताका लागि अभूतपूर्व ‘व्यग्रता’ पनि प्रकट भयो ।
२०७४ सालको निर्वाचनमा झण्डै दुई-तिहाइको दम्भ बोकेको तत्कालीन ‘नेकपा’ आज स-साना टुक्रामा विभाजित भएर रक्षात्मक अवस्थामा पुगेको छ । जनमतले किनारा लगाएपछि र नयाँ शक्तिहरूको उदयले अस्तित्व नै संकटमा पारेपछि फेरि एकपटक ‘वाम एकता’को पुरानो बाँसुरी बज्न थालेको छ । तर, यो एकता वैचारिक आवश्यकता हो कि राजनीतिक अस्तित्व जोगाउने ‘अन्तिम अस्त्र’, यतिबेला बहसको केन्द्रमा छ ।
तथ्यांकलाई हेर्ने हो भने कम्युनिष्टहरूको यो ‘प्रेम’ को कारण छर्लङ्ग हुन्छ । २०७४ मा एमाले (१२१ सिट) र माओवादी (५३ सिट) मिल्दा मुलुकमा कम्युनिष्ट अधिनायकत्वको चर्चा चुलिएको थियो । तर, अहंकार र आन्तरिक कलहले त्यो शक्तिशाली डुङ्गा यसरी फुट्यो कि गत निर्वाचनमा एमाले २५ र नेकपा (प्रचण्ड-माधव नेतृत्व) १७ सिटमा खुम्चिन पुगे ।
जनताले दिएको यो ‘दण्ड’ नै आइतबारको मञ्चमा नेताहरूलाई भावुक र आत्मसमीक्षात्मक बनाउने मुख्य कडी थियो । संसद्मा सानो उपस्थिति र राज्यसत्तामा गुम्दै गएको वर्चस्वले उनीहरूलाई एउटै डालोमा पस्न बाध्य पारेको देखिन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यो एकताको प्रस्ताव केवल चुनावी हारको परिणाम मात्र होइन । हाल सत्ताको बागडोर सम्हालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना दल र नेताहरूमाथि सुरु गरेको भ्रष्टाचारको ‘फाइल’ र पक्राउको सिलसिलाले उनीहरूलाई त्रसित बनाएको छ । ‘निरङ्कुशता र फासीवाद’को नाम दिएर प्रचण्डले जुन ‘छिटो एकता’ को प्रस्ताव गरे, त्यसको भित्री मनसाय सम्भावित कानुनी फन्दाबाट जोगिने ‘सुरक्षा कवच’ निर्माण गर्नु पनि हुन सक्छ ।
आफ्नो गल्ती कहिल्यै स्वीकार नगर्ने छवि बनाएका एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार अलि ‘हल्का’ सुनिए । उनले ‘हाम्रा कमी-कमजोरी रहे, आत्मसमीक्षा गरौँला’ भन्नु नै उनका लागि ठूलो यू-टर्न हो । ‘हामी मरेका छैनौँ, धुलो टक्कयाउँदै उठ्छौँ’ भन्ने उनको उद्घोष कार्यकर्तालाई ढाडस दिने प्रयास भए पनि उनीभित्रको असुरक्षा भाव प्रस्टै झल्किन्थ्यो ।
अर्कोतिर, सधैँ ‘क्रमभङ्ग’ को राजनीति गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले सबैभन्दा बढी हतारोमा देखिएका छन् । ‘आजै गरौँ, ढिलो गर्नु गल्ती हुन्छ’ भन्ने उनको अभिव्यक्तिले उनी आफ्नो राजनीतिक विरासत सुरक्षित गर्न एमालेको छहारी खोजिरहेको हुनसक्ने विश्लेषण हुन थालेको छ ।
यसपटकको मञ्चमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति र उनले दिएको ‘ठोस समीक्षा’ को सुझाव अर्थपूर्ण छ । कतिपयले उनलाई एकीकृत कम्युनिष्ट पार्टीको भावी ‘गार्जियन’ वा नेतृत्वका रूपमा हेर्न थालेका छन् । उनले निर्वाचनको परिणामलाई कार्यशैली सुधार्ने अवसरका रूपमा व्याख्या गर्दै नेताहरूलाई अत्तालिएर होइन, सच्चिएर अघि बढ्न सुझाव दिइन् ।
नेताहरू मञ्चमा अङ्गालो हाल्दै गर्दा भुईँतहका कार्यकर्ता र आम जनता भने सशङ्कित छन् । सामाजिक सञ्जालमा उत्तम वाइबा जस्ता कार्यकर्ताको आक्रोशले नेतृत्व र जनताबीचको ठूलो खाडल उजागर गर्छ । कार्यकर्ताहरूको एउटै गुनासो छ- ‘स्वार्थ मिल्दा एकता, स्वार्थ नमिल्दा फुट ।’
पुराना र पटक-पटक परीक्षण भएका नेताहरूले ‘त्याग’ को घोषणा गरेर नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुको साटो फेरि आफैँ कुर्सीमा बस्न एकताको कार्ड खेल्नुले कार्यकर्तामा उत्साहभन्दा बढी वितृष्णा जगाएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलन यतिबेला इतिहासकै कठिन मोडमा छ । आइतबारको ‘वाम अलाप’ वैचारिक एकता भन्दा पनि अस्तित्व रक्षाको ‘छाता’ जस्तो बढी देखिन्छ । यदि नेताहरूले साँच्चै धुलो टक्कयाएर उठ्न खोजेका हुन् भने उनीहरूले आफ्ना ‘सिङ र जुरो’ मात्र होइन, ‘अहंकार र स्वार्थ’ पनि त्याग्नुपर्नेछ । अन्यथा, स्वार्थका लागि गरिने यस्ता एकताका प्रयासहरू बालुवाको महल जस्तै हुनेछन्, जो अर्को एउटा चुनावी हुरीले सजिलै ढालिदिनेछ ।








