समाचार सुन्नुहोस :
काठमाडौँ – आज असार १५, नेपाली समाजमा दही–चिउरा खाने विशेष दिन। रोपाइँको काम सकेर थकित भएका किसानले खुसीयालीमा दही र चिउरा खाएर शक्ति प्राप्त गर्ने परम्परा रहँदै आएको छ। सरकारले यही दिनलाई राष्ट्रिय धान दिवसका रूपमा समेत मनाउँदै आएको छ।
असार १५ मा नै दही–चिउरा खाने चलन किन सुरु भयो भन्ने विषयमा संस्कृतिकर्मीहरूका अनुसार यो रोपाइँ सकिएको उत्सवसँग जोडिएको हो। पहिले किसानका घरमा गाईभैँसी पाल्ने चलन भएकाले दही, मही र घ्यू सहजै उपलब्ध हुन्थ्यो भने खेती गर्ने भएकाले चिउरा पनि घरमै हुन्थ्यो। त्यसैले सजिलै तयार हुने र पौष्टिक भएकाले दही–चिउरालाई भोजका रूपमा प्रयोग गरिन्थ्यो।
समयसँगै यो परम्परा असार १५ को सांस्कृतिक पर्वका रूपमा स्थापित भयो। अहिले खेतीबाहेक अन्य पेसामा रहेका मानिसले पनि दही–चिउरा खाएर यो दिन मनाउने गरेका छन्। नेपाली संस्कृतिमा दहीलाई शुभ मानिन्छ। महत्वपूर्ण काममा निस्कँदा दही खुवाउने र टीका लगाउने परम्परा अझै कायम छ। स्वास्थ्यका हिसाबले पनि दही लाभदायक मानिन्छ। यसले पाचन प्रणालीलाई सहयोग गर्ने विश्वास गरिन्छ।
यसरी कृषि, संस्कृति र स्वास्थ्यसँग जोडिएको असार १५ नेपाली समाजमा विशेष महत्व बोकेको पर्वका रूपमा स्थापित भएको छ।








