काठमाडौं – होर्मुज जलमार्गमा व्यावसायिक पानीजहाजमाथि इरानले ड्रोन हमला गरेपछि अमेरिका र इरानबीच फेरि प्रत्यक्ष सैन्य द्वन्द्व चर्किएको छ । दुवै देशले गत जुन १७ मा भएको १४ बुँदे युद्धविराम सम्झौता उल्लङ्घन गरेको भन्दै एकअर्काका सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन् ।
पनामाको झण्डाबाहक ट्याङ्कर ‘एमटी किकुमा’ मा इरानले हमला गरेलगत्तै अमेरिकी लडाकु विमानहरूले इरानका १० वटा सैन्य अखडालाई निसाना बनाएका छन् । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको सञ्चार प्रणाली, हवाई प्रतिरक्षा र ड्रोन भण्डारण केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको हो । व्यावसायिक ढुवानीमाथिको इरानी हमलाले युद्धविरामको ठाडो उल्लङ्घन गरेको अमेरिकाको ठहर छ ।
यता, अमेरिकी आक्रमणको जबाफ दिँदै इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ । कुवेतको ‘अली अल–सलेम बेस’ र बहराइनस्थित अमेरिकी नौसेनाको पाँचौँ फ्लीटमा आफूले क्षति पुर्याएको इरानको दाबी छ । यद्यपि, अमेरिकी अधिकारीहरूले भने उक्त आक्रमणबाट आफ्ना बेसमा कुनै मानवीय वा ठूलो भौतिक क्षति नभएको बताएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै अब व्यावहारिक नभई सैन्य रूपमै काम फत्ते गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । ट्रम्पले चेतावनी दिँदै लेखेका छन्, “यदि त्यसो भयो भने इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै रहनेछैन ।”
इरानले भने पानीजहाजहरूले अनुमतिविना अनधिकृत जलमार्ग प्रयोग गरेकाले कारबाही गरिएको दाबी गर्दै अमेरिकाले नै पहिला युद्धविराम तोडेको आरोप लगाएको छ । केही दिनअघि मात्रै दुई देशबीच ६० दिनसम्म व्यावसायिक जहाजलाई सुरक्षित आवतजावत गर्न दिने सहमति भएको थियो ।








