Deneme Bonusu Veren Siteler
मङ्लबार, असार १६, २०८३
Tuesday, June 30, 2026

टोकियो – पछिल्ला दिनमा प्रविधि कम्पनीहरूको शेयर मूल्यमा देखिएको उतारचढावले एआई क्षेत्र पनि कतै बबलको अवस्थामा पुगेको त होइन भन्ने बहस फेरि चर्किएको छ । केही विज्ञहरूले यदि एआई बबल फुट्यो भने त्यसको असर अमेरिकी शेयर बजारले अहिलेसम्म भोगेको कुनै पनि संकटभन्दा ठूलो हुन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयअन्तर्गत ह्वार्टन स्कुलका वित्त प्राध्यापक इताय गोल्डस्टिनका अनुसार अहिले बजारमा बबलको संकेत देखिन थालेको र एआईसँग सम्बन्धित कम्पनीहरूको मूल्यांकन वास्तविकभन्दा बढी देखिएको हुन सक्ने जनाएका छन् । 

यसको संकेत बजारका ठूला तथ्यांकले पनि दिन्छ । वाल स्ट्रिटका पाँच ठूला कम्पनी, जो सबै प्रविधि क्षेत्रका दिग्गज हुन्, तिनीहरूको संयुक्त बजार मूल्य करिब १८ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यो लगभग चीनको पूरै अर्थतन्त्रको आकार बराबर हो ।

पछिल्ला वर्षहरूमा ठूला प्रविधि कम्पनीहरूले एआई विकास, डाटा सेन्टर, चिप, क्लाउड सेवा र पूर्वाधारमा अर्बौं डलर लगानी गरिरहेका छन् । तर लगानीकर्ताबीच अहिले एउटै प्रश्न बढ्दै गएको छ यति ठूलो लगानीले साँच्चै अपेक्षित आम्दानी दिन सक्छ कि सक्दैन ?

छ महिनाअघिसम्म यी कम्पनीहरू आफ्नै शेयर फिर्ता किनिरहेका थिए । यस्तो कदम सामान्यतया कम्पनीसँग अतिरिक्त नगद रहेको संकेत मानिन्छ र यसले शेयर मूल्य बढाउन मद्दत गर्छ । तर अहिले अवस्था उल्टिएको छ । धेरै कम्पनीहरू एआई पूर्वाधार विस्तारका लागि ऋण लिन थालेका छन् ।

ब्रान्डेस इन्भेस्टमेन्ट पार्टनर्सका लगानी निर्देशक ब्रेन्ट फ्रेडबर्गका अनुसार अहिले लिइएको ऋणको मात्रा अझै अत्यधिक ठूलो नभए पनि ब्याजदर बढेमा त्यसको बोझ धेरै गम्भीर बन्न सक्छ । अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाउने सम्भावना देखाइरहेका बेला एआईमा ऋणमार्फत भइरहेको लगानी झन् संवेदनशील बन्न पुगेको छ ।

हालै मात्र ठूलो आईपीओपछि चर्चामा आएको स्पेस तथा एआई कम्पनी स्पेसएक्सले २५ अर्ब डलर बराबरको बन्ड जारी गर्ने योजना सार्वजनिक गरेको छ । यस घोषणापछि कम्पनीको वित्तीय अवस्थामाथि नयाँ प्रश्न उठेका छन् र त्यसको असर शेयर मूल्यमा पनि देखिएको छ ।

विश्लेषकहरूले अर्को जोखिमका रूपमा “सर्कुलर फाइनान्सिङ” लाई पनि औंल्याएका छन् । यस्तो अवस्थामा ठूला प्रविधि कम्पनीहरूले एआई स्टार्टअपहरूमा लगानी गर्छन्, अनि ती स्टार्टअपहरूले त्यही रकम प्रयोग गरी ठूला कम्पनीकै उत्पादन र सेवा किन्छन् । यस्तो चक्रले भविष्यमा कृत्रिम रूपमा बढाइएको माग र मूल्यांकनको समस्या निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

यसै साता प्रविधि कम्पनीहरूको शेयरमा आएको गिरावटले एआई बबल फुट्ने डरलाई फेरि बल दिएको छ । तर सबै विज्ञहरू यसलाई ठूलो संकटको सुरुआत मान्न तयार छैनन् । केही विश्लेषकका अनुसार पछिल्लो गिरावट लामो समयदेखिको तीव्र वृद्धिपछि आएको सामान्य सुधार मात्र हुन सक्छ ।

युनिक्रेडिटका निर्देशक क्रिस्टियन स्टोकरका अनुसार हालको उतारचढाव उच्च मूल्यांकन, नाफा सुरक्षित गर्ने प्रवृत्ति र उच्च ब्याजदरको प्रभावसँग जोडिएको छ । उनको बुझाइमा यो अझै कम्पनीहरूको आधारभूत व्यवसाय नै कमजोर भएको संकेत होइन ।

यद्यपि केही संकेतहरू भने चिन्ताजनक छन् । क्लाउड कम्प्युटिङ र सफ्टवेयर क्षेत्रको ठूलो कम्पनी ओरेकलले हालै डटकम बबलपछि कै खराब साप्ताहिक प्रदर्शन गरेको छ । पाँच दिनमा कम्पनीको शेयर करिब १९ प्रतिशतले घटेको थियो । सन् २००१ को डटकम संकटका बेला ओरेकलको शेयर २० प्रतिशतले घटेको थियो ।

यदि एआई बबल साँच्चै फुट्यो भने त्यसको असर ऐतिहासिक हुन सक्ने विज्ञहरूको भनाइ छ । डटकम बबल फुट्दा धेरैजसो साना र कमजोर कम्पनीहरू बजारबाट हराएका थिए । तर अहिले एआईसँग जोडिएका कम्पनीहरू विश्वकै सबैभन्दा ठूला र प्रभावशाली कम्पनी हुन् । त्यसैले उनीहरूमा ठूलो धक्का लागे त्यसको असर पूरै शेयर बजार, लगानी प्रणाली र वास्तविक अर्थतन्त्रसम्म फैलिन सक्छ ।

यद्यपि १९९० को दशकको डटकम उन्मादजस्तो अन्धाधुन्ध सट्टेबाजी अहिले कम देखिएको विश्लेषकहरूको भनाइ छ । तर ठूला प्रविधि कम्पनीहरूमा गम्भीर गिरावट आयो भने त्यसले अमेरिकी अर्थतन्त्र मात्र होइन, विश्व बजारलाई पनि प्रभावित पार्न सक्छ ।

यसको असर सामान्य नागरिकसम्म पुग्ने सम्भावना पनि छ । अमेरिकामा ठूलो जनसंख्याले प्रत्यक्ष रूपमा वा ४०१ के जस्ता अवकाश कोषमार्फत शेयर बजारमा लगानी गरेको हुन्छ । यदि वाल स्ट्रिटमा ठूलो गिरावट आयो भने लाखौँ मानिसको बचत, अवकाश योजना र वित्तीय सुरक्षामाथि दबाब पर्न सक्छ ।

त्यसैले अहिलेको मुख्य प्रश्न एआई उपयोगी छ कि छैन भन्ने होइन । प्रश्न यो हो बजारले एआईबाट आउने सम्भावित आम्दानीलाई वास्तविकताभन्दा धेरै अघि नै मूल्यांकन गरिसकेको छ कि छैन ? यही प्रश्नको उत्तरले एआई क्षेत्रको आगामी दिशा निर्धारण गर्नेछ ।

तपाईको प्रतिक्रिया