Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – जापानको केन्द्रीय सरकारमा महिला कर्मचारीको नियुक्तिले नयाँ रेकर्ड कायम गरेको छ । मन्त्रिपरिषद् कर्मचारी मामिला ब्यूरोले  सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत अप्रिल १ मा भर्ना भएका नयाँ कर्मचारीमध्ये महिलाको हिस्सा ४१.९ प्रतिशत रहेको छ । यो अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले बढी हो ।

सन् २००५ बाट वर्तमान मापदण्डअनुसार तथ्याङ्क राख्न सुरु गरिएयता महिला नियुक्तिको यो दर अहिलेसम्मकै उच्च हो । योसँगै जापानमा लगातार दोस्रो वर्ष महिला कर्मचारीको नियुक्ति ४० प्रतिशतभन्दा माथि पुगेको छ । प्रशासनिक र नीति निर्माणका लागि महत्वपूर्ण मानिने ‘करियर–ट्र्याक’ (Career-track) पदहरूमा पनि महिलाको प्रतिनिधित्व उल्लेख्य बढेको छ । यस वर्ष ३८.२ प्रतिशत करियर-ट्र्याक पदहरूमा महिला नियुक्त भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले बढी हो। यो पनि एक नयाँ कीर्तिमान हो ।

जापान सरकारले गत मार्चमा ‘लैङ्गिक समानता’सम्बन्धी छैटौँ आधारभूत योजना स्वीकृत गरेको थियो । उक्त योजनाअन्तर्गत सन् २०३० सम्ममा राष्ट्रिय निजामती सेवाका सबै विधा र करियर-ट्र्याक पदहरूमा महिलाको दर कम्तीमा ४० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । तथ्याङ्कअनुसार अप्रिल १ सम्ममा कुल ९,२६८ जना नयाँ कर्मचारी भर्ना गरिएकोमा ३,८८५ जना महिला रहेका छन् । १०० भन्दा बढी कर्मचारी भर्ना गर्ने मन्त्रालयहरूमध्ये परराष्ट्र मन्त्रालयमा महिलाको आकर्षण सबैभन्दा बढी देखिएको छ ।

  • परराष्ट्र मन्त्रालय: ५८.१ प्रतिशत
  • न्याय मन्त्रालय: ५२.९ प्रतिशत
  • स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय: ५०.७ प्रतिशत
  • अर्थ, व्यापार तथा उद्योग मन्त्रालय: ४६.२ प्रतिशत

यसको विपरीत भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयमा महिला कर्मचारीको नियुक्ति सबैभन्दा कम २९.५ प्रतिशत मात्र रहेको छ । सरकारी अधिकारीहरूका अनुसार कार्यस्थलमा गरिएको सुधार र नयाँ सुविधाहरूका कारण यो सकारात्मक नतिजा सम्भव भएको हो । ब्यूरोका एक अधिकारीले भने, ‘काम र सन्तानको हेरचाहबीच सन्तुलन मिलाउन सरकारले दिएको सहयोग तथा ‘कार्यशैली सुधार’मार्फत कार्यस्थलको वातावरणमा गरिएको परिवर्तनले महिलाहरूलाई सरकारी सेवातर्फ आकर्षित गरेको हो ।’

तपाईको प्रतिक्रिया