टोकियो – अमेरिकी व्यापार अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसै वर्षको सुरुमा लागू गरेको १० प्रतिशतको विश्वव्यापी भन्सार शुल्कविरुद्ध बिहीबार फैसला सुनाएको छ । अदालतको यो निर्णयलाई राष्ट्रपति ट्रम्पको आक्रामक व्यापार रणनीतिमाथि लागेको ठूलो कानुनी झट्काका रूपमा हेरिएको छ ।
ट्रम्प प्रशासनले गत फेब्रुअरीदेखि यो नयाँ भन्सार शुल्क कार्यान्वयनमा ल्याएको थियो । यसअघि सर्वोच्च अदालतले ट्रम्पको ‘रेसिप्रोकल ड्युटी’ (पारस्परिक महसुल) र चीन, क्यानडा तथा मेक्सिकोबाट आयात हुने वस्तुहरूमाथि लगाइएको ‘फेन्टानाइल’ सम्बन्धी लेवीलाई अमान्य ठहर गरेपछि त्यसको सट्टामा यो १० प्रतिशतको विश्वव्यापी कर लगाइएको थियो ।
सर्वोच्च अदालतको आदेशपछि ट्रम्पले लगभग सबै व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै नयाँ भन्सार महसुल ल्याएका थिए, जसलाई अहिले व्यापार अदालतले पनि अवैधानिक ठहर गरिदिएको छ । यो फैसलाले अमेरिकाको अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध र आयातित वस्तुहरूको मूल्यमा व्यापक प्रभाव पार्ने देखिएको छ ।








