टोकियो – उत्तर कोरियाका नेता किम जोङ उनले बिहीबार नयाँ युद्धपोतको प्रक्षेपणका क्रममा भएको गम्भीर दुर्घटनालाई असह्य आपराधिक कार्य भन्दै कडा आलोचना गरेका छन् ।
राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार, ५,००० टन क्षमताको डेस्ट्रोयर (युद्धपोत) को तल्लो भाग च्यापिएको थियो, जसका कारण जहाज असन्तुलित भएर ढल्किएको थियो । किम स्वयम् उक्त प्रक्षेपण कार्यक्रममा उपस्थित थिए । उनले यो घटनाले एकै क्षणमा हाम्रो राष्ट्रको गौरव र प्रतिष्ठामा गम्भीर क्षति पुर्याएको भन्दै दोषीहरुलाई कारबाही गर्न र आगामी जुन महिनामा हुने एक महत्त्वपूर्ण पार्टी बैठकअघि युद्धपोतलाई पुनः मर्मत गर्न आदेश दिएका छन् ।
राज्य सञ्चालित सञ्चारमाध्यमले उक्त घटनामा कुनै घाइते वा मृतक भएको उल्लेख गरेका छैनन् । किमले उक्त दुर्घटनाको कारण ‘पूर्ण लापरवाही, गैरजिम्मेवारी र अवैज्ञानिक सोच’ भएको बताएका छन् । उनले सम्बद्ध व्यक्तिहरूको ‘गैरजिम्मेवारी पूर्ण गल्तीहरू’ लाई आगामी महिना हुने पूर्ण बैठकमा छलफल गरिने पनि बताएका छन् ।
दण्ड कस्तो हुनेछ भन्ने अझै स्पष्ट छैन, तर उत्तर कोरियाको मानव अधिकारको स्थिति निकै कमजोर छ । मानवअधिकार कार्यकर्ताहरूका अनुसार त्यहाँ साउथ कोरियन डिभीडी हेरेको वा देश छाड्ने प्रयास गरेको मात्रमा पनि मानिसलाई जेल हालिन्छ ।
उत्तर कोरियाले यस्ता घरेलु दुर्घटनाहरू सामान्यतया सार्वजनिक गर्दैन, यद्यपि केही घटनाहरू यसअघि पनि जानकारी दिएको छ । गत नोभेम्बरमा उत्तर कोरियाले सैन्य उपग्रह विस्फोटलाई सबैभन्दा गम्भीर असफलता भनेको थियो र तयारीमा संलग्न अधिकारीहरूको आलोचना गरेको थियो ।
सन् २०२३ को अगस्टमा पनि अर्को उपग्रह प्रक्षेपण असफल भएको घटनामा आपतकालीन बूस्टिङ प्रणालीमा त्रुटि भएको बताइएको थियो, तर त्यसलाई ठूलो समस्या होइन भनिएको थियो । बिहीबारको दुर्घटना केही हप्ता अगाडि मात्र सार्वजनिक गरिएको अर्को ५,००० टनको युद्धपोतको अनावरणपछि भएको हो । उक्त युद्धपोतमा ७० भन्दा बढी क्षेप्यास्त्र बोक्ने क्षमता रहेको बताइएको थियो । किमले त्यस युद्धपोतलाई देशको नौसेना सशक्त बनाउन गरिएको ‘एक ठूलो उपलब्धि’ भनेका थिए र आगामी वर्षको सुरुवातमा प्रयोगमा ल्याइने बताएका थिए । ***