काठमाडौं – भारतले पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानसँग चुलिँदो तनावका बीच कडा कदम उठाउँदै पाकिस्तानी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । भारतीय एयरपोर्ट्स अथोरिटीले बुधबार साँझ जारी गरेको नोटिस टू एयरमेनअनुसार यो प्रतिबन्ध १ मेदेखि २३ मे २०२५ सम्म लागू हुनेछ ।
यस निर्णयअनुसार पाकिस्तानमा पञ्जीकृत कुनै पनि विमान-चाहे त्यो सरकारी, निजी वा चार्टर्ड होस्-अब भारतको हवाई क्षेत्रमा प्रवेश गर्न सक्ने छैनन् । प्रतिबन्ध पाकिस्तानी एयरलाइन्स तथा सैन्य विमानहरूमासमेत लागू हुनेछ। एएआईका अनुसार यो सुरक्षा दृष्टिकोणले चालेको कदम हो ।
यद्यपि भारत र पाकिस्तानबीच सिधा वायुमार्गीय सम्पर्क छैन, पाकिस्तानी एयरलाइन्सले सिंगापुर, मलेशिया लगायत पूर्वी एसियाली देशहरूसँगको उडानका लागि भारतको हवाई क्षेत्रको प्रयोग गर्दै आएका थिए । हवाई मार्ग बन्द हुँदा ती उडानहरू प्रभावित हुनेछन् ।
२२ अप्रिलमा जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानप्रति कडा धारणा अपनाएको छ । २३ अप्रिलदेखि भारतले सिन्धु जल सम्झौता निलम्बन, अटारी बोर्डर क्रसिङ बन्द र पाकिस्तानसँगका कूटनीतिक सम्पर्कहरू घटाउने निर्णय गरिसकेको छ ।
यसको प्रतिक्रिया स्वरूप पाकिस्तानले पनि भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र तेस्रो मुलुकमार्फत भइरहेको भारतसँगको सबै व्यापारिक गतिविधि निलम्बित गरेको छ । साथै, पाकिस्तानले भारतले सिन्धु नदीको पानी रोक्ने कदम चाले युद्धको संकेत ठहर्ने चेतावनीसमेत दिएको छ ।