काठमाडौं – विश्वकै सबैभन्दा ठूलो धार्मिक संस्था क्याथोलिक चर्चका प्रमुख, पोप फ्रान्सिसको निधन भएको छ । ८८ वर्षीय पोपले विगत केही महिनादेखि स्वास्थ्य समस्या झेलिरहेका थिए, विशेषतः ‘बाइल्याटरल निमोनिया’ले उनलाई निकै कमजोर बनाएको थियो ।
भ्याटिकन सिटीमा बिहान ७:३५ बजे, स्थानीय समयअनुसार, उनले अन्तिम सास लिएका हुन् । कार्डिनल केभिन फेरेलले पोप फ्रान्सिसको निधनको घोषणा गर्दै भने, ‘उनको जीवन सम्पूर्ण रूपमा प्रभु र चर्चको सेवामा समर्पित थियो ।’
पोप फ्रान्सिस न केवल आध्यात्मिक नेता थिए, उनी प्रेम, सहानुभूति र सामाजिक न्यायका प्रतीक पनि थिए । उनले सधैं सीमान्तकृत र पछाडि परेका वर्गहरूको पक्षमा आवाज उठाए, र क्याथोलिक चर्चभित्र सुधार ल्याउने प्रयासमा अग्रसर र हे। यसै कारण उनी प्रगतिशील सोच भएका युवादेखि परम्परावादी समुदायसम्म सबै माझ लोकप्रिय थिए ।
फ्रान्सिस क्याथोलिक इतिहासका पहिलो ल्याटिन अमेरिकी पोप थिए । सन् २०१३ मा पोप बेनेडिक्टको राजीनामापछि उनले पोपको जिम्मेवारी सम्हालेका थिए । उनको निधनले विश्व समुदाय शोकमा डुबेको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पोपलाई ‘विनम्रता र सेवा भावका आदर्श पात्र’ भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । नेदरल्याण्ड्सका प्रधानमन्त्री डिक स्कूफले त उनलाई “सबै नागरिकका लागि प्रेरणादायी व्यक्ति” को रूपमा स्मरण गरेका छन् । पोप फ्रान्सिसको जीवन र योगदान सधैं स्मरणीय रहनेछ ।