काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि विभिन्न प्रतिबन्धहरू लागु गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले उक्त निकायमाथि ‘अवैध र आधारहीन कदमका भरमा अमेरिका र हाम्रो निकट साझेदार इजरेललाई निशानामा पारेको’ भन्ने आरोप पनि लगाएका छन् ।
सो कार्यकारी आदेश अनुसार अमेरिकाको नागरिक वा उस्का साझेदारहरूविरुद्धका आईसीसी अनुसन्धानमा संलग्न व्यक्ति र तिनका परिवारलाई आर्थिक तथा भिसा प्रतिबन्ध लागु हुनेछन् । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू वासिङटन भ्रमणमा रहँदा ट्रम्पले ती कदमहरूमा हस्ताक्षर गरेका हुन् ।
गत नोभेम्बरमा आईसीसीले गाजामा भएको भनिएका ‘युद्ध अपराध’ का लागि नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उक्त आरोप इजरेलले अस्वीकार गर्छ । आईसीसीले हमासका एक कमाण्डरविरुद्ध समेत पक्राउ पुर्जी जारी गरेको थियो ।
बिहीवार ह्वाइटहाउसभित्र पठाइएको एक लिखित निर्देशनमा हमास र इजरेलविरुद्ध एकै समयमा त्यस्तो पुर्जी जारी गरेर द हेगस्थित आईसीसीले हमास र इजरेलबीच ‘लाजमर्दो तरिकाले नैतिक समानता’ देखाएको आरोप लगाएको छ।
ट्रम्पको कार्यकारी आदेशले आईसीसीका पछिल्ला कदमले ‘एक खतरनाक नजिर’ खडा गरेको भन्दै त्यसले अमेरिकीहरूलाई ‘अनावश्यक झमेला , दुर्व्यवहार र सम्भावित गिरफ्तारी’को जोखिममा पार्ने जनाएको छ । ‘यस गलत आचरणले अमेरिकाको सार्वभौमसत्तामा असर पार्ने खतरा रहेको र इजरेलसहित अमेरिका र हाम्रा साझेदारको महत्त्वपूर्ण राष्ट्रिय सुरक्षा र विदेश नीतिका कामलाई प्रभावित तुल्याउन सक्छ,’ सो आदेशमा भनिएको छ । –बीबीसी