Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

भाषा संवादको पहिलो सशक्त माध्यम हो । भाषाका कारण एक अर्काबीच खुलस्त संवाद हुन सकेन भने चाहेजति अभिब्यक्ति आदानप्रदान हुन सक्दैन र बिश्वसनीयता, असल मित्रता एवं बलियो सम्बन्ध पनि कायम हुन सक्दैन । जसका कारण हरेक क्षेत्रका कार्यसम्पादनमा असहजता उत्पन्न हुनु स्वभाविकै हो । रोजगारी, ब्यवसाय वा अध्ययन जुनसुकै उद्देश्यले रहेका ब्यक्तिहरुका लागि पनि जापानमा जापानी भाषा अनिवार्य जस्तै छ । जापानी भाषाज्ञान बिना यहाँको दैनिक जीवनयापन गर्नसमेत कठिनाई छ । उनीहरुको देशमा आएर आफुअनुकुल अंग्रेजी वा अन्य भाषाको अपेक्षा गर्नु हाम्रो मुर्खता हो ।

जापानमा लामो बसाईको योजना बुनेका नेपालीहरु जुनसुकै उमेर समुहको भए पनि बेलैमा जापानी भाषा राम्रो बनाउने बारे सोच्नु उपयुक्त हुन्छ । आफु बसेको ठाउँको विभिन्न निकायबाट आउने महत्वपूर्ण चिठीपत्र र तोकिएको समयमै गर्नुपर्ने त्यसको रेस्पोन्स, जापानीहरुसंग गरिने वार्तालाप, ब्यवसायिक भेटघाट, सेमिनार, टेलिफोन संवाद लगायतका बिषयमा भाषा ज्ञानका अभावका कारण हामी नेपालीहरुले अपेक्षित प्रगति र सफलता हासिल गर्न नसकेको कसैबाट छिपेको छैन । जापानी भाषा अब्बल बनाउन सके सफलताले आफै पछ्याउने अवसरहरु यहाँ प्रशस्तै छन् । पहिलो गासमै ढुंगा भनिएझैं आफ्ना कुरा निर्धक्कसंग राख्न नसकेपछि एक पछि अर्को गर्दै दिनप्रतिदिन यहाँका अवसरहरु गुमाईरहेको हामीले चालै पाएका हुँदैनौ । आफ्नै भाषा प्रयोगले मात्र अहिलेसम्म पुगिसरी आएका जापानीहरु अब भने बिस्तारै अंग्रेजी भाषा तर्फआकर्षित हुन थालेका छन् । तथापि उनीहरुको देशमा रहेका हामी विदेशीहरुले जापानी भाषाज्ञान बिना अपेक्षित सफलता हासिल गर्न असंभव प्रायः छ ।

भाषा ज्ञानको भण्डार बढाउन जापानी साथीहरु बनाउने, जापानी टेलिभिजन कार्यक्रम नियमित हेर्ने, जापानीहरुद्वारा आयोजित सभा, सेमिनार, पार्टी जस्ता कार्यक्रमहरुमा सहभागी हुने, नजिकका नगरपालिकाद्वारा उपलब्ध गराईएका भाषा कक्षामा भर्ना हुने, रात्रिकालिन भाषा स्कुलहरुमा अध्ययन गर्ने, जापानी भाषा सिक्ने प्रयोजनका लागि प्रकाशित उपयोगी पुस्तकहरु पढ्ने, लाइसेन्स प्राप्त प्राईभेट टिचरहरु बोलाएर आफुले सिक्न चाहेको क्षेत्रको भाषा पढाउन लगाउने गरेमा भाषामा यथोचित सुधार ल्याउन सकिन्छ । जापानमा हरेक ठाउँमा कुनै पनि काम अगाडि बढाउन आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका ब्यक्तिगत विवरण आफै लेख्नुपर्ने प्रावधान भएकोले कम्तीमा पनि ब्यक्तिगत विवरण मात्रै भए पनि लेख्न सक्ने हुन सके यहाँको दैनिक जीवन थप सहज बन्न सक्दछ ।

भाषामा आत्मबल नहुँदा समयमै अस्पताल जान नसकी रोग पालेर बस्नुपरेको, आफुलाई उपयुक्त लागेको रोजगारीमा प्रतिस्पर्धा गर्न नसकेको वा हात धुनुपरेको, आफुलाई मनमा लागेका कुराहरु आफै ब्यक्त गर्न नसक्दा सँधै परनिर्भर हुनुपरेको जस्ता समस्याबाट ग्रसित नेपालीहरुको जमात जापानमा ठूलै पाईन्छ । गन्तब्य मुलुकका रुपमा जापानलाई रोजीसकेपछि यहाँको भाषालाई उपेक्षा गर्न पटक्कै मिल्दैन । जापानी भाषालाई उच्च प्राथमिकतामा राखेर जति जानिएको छ त्यो भन्दा राम्रो बनाउन जे जसरी संभव छ सिक्ने र अध्ययन गर्ने बानी बसाल्नुपर्दछ । सिक्ने कुरामा लाज मान्नु हुँदैन । जापानीहरुसंग निर्धक्क बोल्ने कन्फिडेन्स बढाउन नियमित अभ्यास र मिहिनेतलाई जारी राख्नुपर्दछ ।

अध्ययन गरेर सिकेको भाषा र अभ्यासले सिकेको भाषा जापानीहरु सजिलै छुट्याउन सक्दछन् । एकछिनको वार्तालापमै हामीले बोल्ने भाषाबाट उनीहरुले हाम्रो औकात लगायत धेरैथोक चाल पाईसकेका हुन्छन् । यसर्थ पनि जापानमा जापानी भाषा राम्रो हुनु जरुरी छ । काम चलेकै छ भनेर अन्यत्र दिने बचत समयलाई भाषाज्ञान बढाउन अवलम्बन गर्नुपर्ने उपायहरु बारे जापानमै उच्चशिक्षा हासिल गरेका विद्वतहरुसंग परामर्श लिन सकिन्छ । सिक्ने कुरामा कहिलै ढिलो हुँदैन । ढिलो त त्यतिबेला हुन्छ जतिबेला भाषाका कारण पाईलैपिच्छे समस्या झेल्नुपर्ने हुन्छ । यसकारण जापानी भाषा जापानका लागि पहिलो र्सत हो भन्दा अतिशयोक्ति नहोला ।***

तपाईको प्रतिक्रिया