लण्डन – नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मा सम्मानित भएका छन्। शनिबार स्विजरल्याण्डको जुरिचमा आयोजित एक समारोहमा शर्मा सम्मानित भएका हुन्। शर्मालाई गैर आबासीय नेपाली संघका प्रमुख संरक्षक जीबा लामिछानेले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मानित गरेका हुन।
युरोपमा रहेर अनलाइन पत्रकारिता क्षेत्रबाट पुरयाएको योगदानको उच्च प्रशंसा गर्दै शर्मालाई सम्मानित गरिएको हो। कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै गैर आबासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक जीवा लामिछानेले अनलाइन मिडिया कै कारण एनआरएनए आजको अबस्थामा आएको भन्दै प्रशंसा गरे।
सम्मान ग्रहणपछि बोल्दै पत्रकार शर्माले आफुलाई थप जिम्मेबारी बढेको बताए। उनले भने – प्रबासमा रहेर कलम चलाउन आफैमा कठिन छ, तर यो सम्मानले थप जिम्मेबारी बढेको छ।
शर्माको सक्रियतामा सन् २०१० मा नेपाल पत्रकार महासंघ युके शाखाले स्थापना थियो। नेपाल पत्रकार महासंघ युके शाखाको सन् २०१२ जनवरी १४ मा पहिलो अधिवेशबाट शर्मा नेपाल पत्रकार महासंघ यूके शाखाको बरिष्ठ उपाध्यक्षमा चयन भए । सन् २०१४ मार्च ९ देखि शर्माले नेपाल पत्रकार महासंघ यूके शाखाको नेतृत्व समाल्दै आएका छन् ।
परोपकारी पत्रकारीतामा विश्वास राख्ने शर्माले नेपालका महाभूकम्प तथा विपद पीडितका लागि सहयोग जुटाउन सक्रिय भूमिका निर्वाह गरेका छन् । नेपालमा गत बर्ष गएको महाभूकम्पबाट पीडित नेपाली पत्रकारहरुका लागि शर्माले १३ लाख रुपैयाँ संकलन समेत शर्माकै नेतृत्वमा भएको थियो ।
स्विजरल्याण्डबाट संचालित अनलाईन मिडिया नेपाल स्विस डट कमले आफ्नो छैटौ बार्षिकउत्सबमा आयोजित सम्मान कार्यक्रममा युरोपबाट कलम चलाएका अर्का पत्रकार बसन्त रानाभाटलाई पनि सम्मान गरेको छ। कलाकार तथा सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको उक्त कार्यक्रम एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। सोही कार्यक्रममा गैरआवासीय नेपाली संघका सदस्य एकराज गिरी लगायत पत्रकार तथा कलाकार सम्मानित भए । कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, महासचिब बद्री केसी, युरोप संयोजक कुल आचार्य, सहसंयोजक प्रेम गुरुगं र दावा शेर्पा लगायतको उपस्थिति थियो । ***








