युएई– युनाईटेड अरव इमिरेट्समा सुदूरपश्चिम सेवा समाज स्थापनाको एक बर्ष पुगेको अवसरमा देउडा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । दुबईको इम्पिरियल सुईट होटलमा सुदूर पश्चिमका मौलिक भेषभूसा र संस्कृति झल्काउने खालका लोक संस्कृतिलाई उजागर गर्दै देउडा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।

युएईका लागि नेपालका राजदूत धनञ्जय झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपालबाट पुग्नुभएका देउडा सम्राट नन्दकृष्ण जोशी, सुदूरपश्चिमकी चर्चित नायिका तथा गायिका चांदनी मल्ल लगायतको प्रस्तुतिबाट युएईमा रहेका सुदूरपश्चिमेलीहरु रोमाञ्चित बनेका थिए ।
सांगीतिक कार्यक्रमको थालनी “सुदूरको चेलो म त” भन्ने गीतमा मनोज भट्ट र संगीता बुर्लाकोटीको युगल नृत्यबाट भएको थियो । स्थानीय कलाकारहरुद्धारा गाएको “राईजोमा” देउडा गीतले सुदूर पश्चिमको संस्कृतिलाई झल्काएको थियो । “माईती घर–माईती घर” भन्ने गीतमा निर्मला बर्जचार्यको नृत्य तथा प्रदेशको पीडालाई समेटेर मोहन थकुराठी र सहारादेवी थकुराठीले अभिनय गरेको नाटक लगायतले उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए ।

गायिका तथा नायिका चाँदनी मल्लको प्रस्तुतिले सबै उपस्थितलाई मन्त्रमुग्ध पारेको थियो । उहांले प्रस्तुत गर्नुभएको गीतहरुमा “इज्नरोय दुःखले”“सुदूर पश्चिम स्वर्गसरी”“तिमी पारी छौ” “मेरी मायालु” “बनवासाकी पूल”“मलाई काली काली भनी जिस्काउंछन्” “ऐसेलु पाक्याका वन” र “मान्छे काली छु दिलवाली” रहेका छन् ।

त्यस्तै देउडा सम्राट भनेर चिनिने नन्दकृष्ण जोशीले “झ्याम्म झ्याम्म”“झम्क्यो डालीमा” “छमक्क छमक्क” “नेपाली बासमती धानको”“बालो ढल्क्यो डोरी”“म आयां बझाङ्गबाट” र “दैलेखत्री कोट लायाको” लगायतका गीत गाएर सबैलाई रोमाञ्चित बनाउनुभएको थियो ।

बार्षिक उत्सव कार्यक्रममा एक बर्षसम्मको आर्थिक आयव्यव र समाजले गरेको प्रतिवेदन महासचिव मानबहादुर केसीले प्रस्तुत गर्नुभएको थियो ।








