सिक्किम– अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को नयाँ शाखा भारतको सिक्किममा पनि बिस्तार भएको छ । नेपाली चलचित्रका स्थापित नायक र सिक्किम चलचित्र बोर्डका अध्यक्ष उत्तम प्रधानको अध्यक्षतामा ईनासको नयाँ शाखा बिस्तार भएको हो ।
शाखाको नौ सदस्यीय कार्यसमितिलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको ग्लोबल समितिको बैठकले अनुमोदन गरेको छ । नव गठित ईनास सिक्किम समितिको अन्य सदस्यहरुमा संगीता प्रधान उपाध्यक्ष, समीर गजमेर महासचिव, नारायण दास शिल्स कोषाध्यक्ष रहेका छन् भने अभिनेत्री रन्जु लामिछाने, दिपक ढकाल, राकेश सिन्चुरी, अर्जुन चापागाईं र जगत गुरुङ कार्यकारी सदस्य छन् । त्यस्तै हरि ढुंगेल र टीकामाया गुरुङलाई समितिको सल्लाहाकारमा नियुक्त गरिएको छ ।
यस अघि बिश्वभर ५७ वटा शाखा बिस्तार गरेर गैरआवासीय नेपाली संघपछिको दोश्रो ठूलो संस्थाको रुपमा आफूलाई उभ्याएको यस संस्थाले भारतका विभिन्न राज्यमा रहेका नेपाली कलाकार र साहित्यकारहरुलाई समेटेर अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) भारत केन्द्रिय समिति गठन गर्ने प्रयास स्वरुप यसअघि नै दिल्लीमा यस संस्थाको शाखा बिस्तार भइसकेको छ । त्यस्तै नेपाली मूलका मानिसहरुको वाहुल्यता रहेको दार्जलिङ्ग, आसाम, महाराष्ट्र, अरुणाञ्चल प्रदेश र मेघालयमा रहेका नेपाली कलाकार तथा साहित्यकारहरुले ईनासमा आवद्ध गराउन पहल सुरु भएको छ ।








