मस्को– पूर्वी युरोपेली मुलुक रुशमा अन्तर्राष्ट्रिय क्षेत्रसंग मैत्री सम्बन्ध स्थापित गर्ने उद्देश्यले सन् १९२५ मा गठन भएको संस्था ‘रोस्सोत्रुद्नीचेस्तभो’ ले स्थापनाको ९० औं बार्षिक उत्सव मनाएको छ ।
९० औं स्थापना दिवसको अवसरमा आयोजित अन्तर्राष्ट्रिय मानवीय सहयोगको बिकासमा जनस्तरीय राजनीतिको भूमिका बिषयमा अन्तक्र्रिया सम्पन्न भएको छ । कार्यक्रममा १ सय भन्दा बढि मुलुकका ५ सय भन्दा बढि प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालको प्रतिनिधित्व पूर्व विज्ञान तथा प्रबिधि मन्त्री गणेश शाहले गुर्नभएको थियो । कार्यक्रमको अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले पठाउनुभएको शुभकामना मन्तव्य शाहले पढेर सुनाउनुभएको थियो ।
अन्तर्राष्ट्रिय सम्बन्ध ब्यापक बनाउन स्थापना भएको यस संस्थाले नेपालमा पनि पछिल्लो ३६ बर्षदेखि यस संस्थाले नेपालको बिकासका लागि रुशी सांस्कृतिक केन्द्रको माध्यमबाट संस्कृति, विज्ञान एवं शिक्षाको क्षेत्रमा तथा नेपाल र रूसबीच मैत्री सम्बन्धको प्रवर्धनमा पु¥याउँदै आएको योगदानको उच्च मूल्याङ्कन गरिएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
सोभियत संघ तथा विश्वका अन्य देशहरूका जनताहरूबीच मैत्री तथा आपसी समझदारीको सुदृढीकरणको उद्देश्यले संसारका विभिन्न देशहरूसंग जनस्तरमा मैत्री सम्बन्ध विकासका लागि तत्कालीन जनशिक्षा कमिसार अ.भ.लुनाचास्र्कीको अध्यक्षतामा सन् १९२५ को अप्रीलमा अखिल संघीय विश्व सांस्कृतिक सम्बन्ध समाजको नामले एक संस्था स्थापित गरिएको थियो । यसै संस्थाको माध्यमबाट तत्कालीन सोभियत संघ र संसारका विभिन्न देशका सांस्कृतिक कार्यकर्ताहरूबीच सर्वप्रथम आपसी सम्पर्क र यात्रा भ्रमणको आदानप्रदान सम्भव हुन गएको थियो ।








