पोर्चुगल– भारतले नेपालको सीमानाकामा लामो समयदेखि गरेको पारवहन अवरोधको बिरोधमा युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीहरुले राजधानी लिस्वोनमा रहेको भारतीय दूतावास अगाडी प्रदर्शन गरेका छन् ।
एनआरएन पोर्चुगलको आह्वानमा गरिएको प्रदर्शनमा पार्चुगलमा रहेका ५ सय भन्दा बढि नेपाली नागरिकहरुको सहभागिता थियो । प्रदर्शनमा सहभागिहरुले भारतीय नाकाबन्दीको बिरोधमा नारावाजी गरेका थिए भने नाकाबन्दी फिर्ता गर, ब्याक अफ इण्डिया, पारवहन अधिकार सुनिश्चित गर लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेका थिए ।
दूतावास अगाडी बिरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेपनि दूतावासले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेको थियो । पोर्चुगलका भारतीय राजदूत डाक्टर राजेन्द्र नाथ मिश्रले नाकाबन्दी सम्बन्धि कुनैपनि पत्र नबुझ्न सरकारको आदेश भएको बताएका थिए । तर ज्ञापनपत्र इमेलमार्फत पठाइसकिएको एनआरएन पोर्चुगलका अध्यक्ष भीमकमल केसीले जानकारी दिनुभयो ।
भारत ७० दिनदेखि नेपालमा लगाएको नाकाबन्दी र यसले नेपाली जनजीवन निम्त्याएको मानवीय संकटका बारेमा बिश्वभर आवाज बुलन्द हुँदै गएको छ । नाकाबन्दीको बिरोधमा यसअघि संयुक्त राष्ट्रसंघको कार्यलय अगाडि लगायत अमेरिका, क्यानडा, बेलायत, जर्मनी, स्पेन, डेनमार्क, स्वीट्जरल्याण्ड लगायतका मुलुकमा रहेको भारतीय दूतावास अगाडी प्रदर्शन गरेका थिए ।








