क्यानडा– नेपालमा जारी भएको संविधान आफुले भनेजस्तो नभएका कारण भारतले दुई महिनादेखि लगाइरहेको अघोषित नाकाबन्दीको बिरोधमा क्यानडामा रहेका नेपालीहरुले राजधानी टोरन्टोस्थित भारतीय बाणिज्य दूतको कार्यलय अगाडि बिरोध प्रदर्शन गरेका छन ।
गैरआवासीय नेपाली संघ क्यानडाको आह्वानमा भएको बिरोध कार्यक्रममा क्यानडामा रहेका उल्लेख्य नेपालीहरुको सहभागिता थियो । प्रर्दशनमा सहभागीहरुले नेपालमा जारी नाकाबन्दी बन्द गर, भूपरिवेष्ठित मुलुकको पारवहन अधिकार सुनिश्चित गर, ब्याक अफ ईण्डिया लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
भेला भएका नेपालीहरुले नाकाबन्दीको बिरोधमा भारतीय वाणिज्य दूत समक्ष ज्ञापनपत्र पनि बुझाएको एनआरएन क्यानडाका महासचिव सुमन लम्सालले बताउनुभयो ।
भारतको नाकाबन्दीको बिरोधमा बिश्वभर रहेका नेपाली नागरिकहरुले प्रर्दशन गर्दै आएका छन । केहि समयअघि अमेरिकामा रहेका नेपालीहरुले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको कार्यलय अगाडी प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाएका थिए भने अमेरिका, बेल्जियम, कोरिया, अष्ट्रेलिया लगायतका देशमा रहेका नेपालीहरुले सम्बन्धित देशमा रहेको भारतीय दूतावास अगाडी बिरोध प्रर्दशन गरेका थिए ।








