लण्डन – लण्डनको आफ्नै फुलबारी मानिने केन्टवरी सहरको कम्युनिटी हलमा संखुवासभा जिल्लाका कार्यरत सैनिकहरुले बार्षिक भेटघाट तथा चिनजान कार्यक्रम सम्पन्न गरेका छन् ।
दोस्रो गोर्खा बटालियनमा आवद्ध संखुवासभा जिल्लाका कार्यरत सैनिकहरुले बार्षिक रुपमा बर्षगांठ मनाउदै आएको समुहका वारेन्ट अफिसर नेत्र राईले जानकारी गराए ।
नेपाली भेषभूषामा सजिएका सहभागीको ताँती हेर्दा र संखुवासभाको ठेट संगित सुनिरहँदा आफ्नै गाउँघरमा पुगेको संखुवासभा निवासी साजन्ट योगेन्द्र राईले बताए । सचिन थापाले संखुवासभा जिल्ला समाज युकेले हरेक बर्ष आयोजना गर्ने यो विशिष्ट जमघटले बेलायती नेपालीहरु माझ चर्चा बटुल्ने, गाँउघरको याद मेटाउन सकिने र गाँउघरको समसामयिक घटनाहरु गाउँलेहरु माझ राख्ने अवसर प्रदान गरेको अभिव्यक्ति दिएका थिए ।
कार्यक्रमका सञ्चालक मदन जिमीले वार्षिक भेटघाट कार्यक्रमलाई औपचारिकरुपमा थालनी गर्दै उपस्थित जिल्लाबासी दाजुभाइ तथा दिदिबहिनीहरुलाई संस्थाको तर्फबाट स्वागत गरेका थिए ।
कार्यक्रममा उपस्थित संखुवासभाका कार्यरत सैनिकहरु पदोन्नती हुनु भएकोमा समुहकै अगुवा वारेन्ट अफिसर छत्रमान लिङ्थेपले शुभकामना दिंदै जिल्लाको दुर्गम गाउँबाट बेलायत प्रवेश गरेका विभिन्न जाती, वर्ग र धर्ममा आस्था राख्ने सम्पूर्ण जिल्लाबासीहरुको एकमात्र साझा आगनको रुपमा विकसित भएको सामाजिक संस्थाले हरेक बर्ष बार्षिक कार्यकम गरिरहँदा ज्यादै खुशी भएको अभिव्यक्ति राखेका थिए । आफु गोर्खाली हुनुमा गर्व गर्दै उनले राष्ट्रले ठुलो अपेक्षा राखेको छ र हामी वीर गोर्खालीहरुको विरासतलाई थाम्न हामी सँधै आ-आफ्नो इमान्दारीपूर्वक निष्ठावान रुपमा अगाडि लागियो भने कहिले पछाडि फर्किएर सम्झनुपर्ने अवस्था नआउने जिकिर गरे ।
सञ्चालक मदन जिमीले सदा झै हरेक वर्ष गाँउको सम्झना आउने एकदमै मनोरञ्जनात्मक प्रतियोगिता “म पनि जाने सखुवासभा तोङबा र माछा खान” उपस्थित माझ प्रतिस्पर्धा गराएका थिए । कार्यक्रमको अन्त्यमा प्रथम, दोस्रो र तेस्रो हुने विजयी प्रतियोगिहरुलाई गाउँकै याद आउने कोदोको तोङ्बा र सभा खोलाको असला माछा खानका लागि जिल्ला पुग्ने पुरस्कार वितरण गरेको जानकारी कार्यक्रमका ब्यवस्थापन सार्जन्ट धन गुरुङले बताए ।








