Deneme Bonusu Veren Siteler
आइतवार, साउन १०, २०८३
Sunday, July 26, 2026

नेपालमा आएको २०७२ साल बैशाख १२ गतेको महाभूकम्प र निरन्तर आएका पराकम्पहरुले देशको अस्मिता लुटे सरह भएको छ । अहिले हामी नेपालीलाई भविष्यको नयाँ नेपालको निर्माणमा यस बिपतले कडा चुनौती खडा गरेको छ।

हाम्रो संस्कृति परापूर्वकाल देखि नै धर्ममा अडिएर बनेको पाइन्छ र हाम्रा अधिकतम संस्कृतिलाई निर्क्योलमा ल्याउने हो भने विज्ञानलाई आधार बनाएको पाइएको छ केहि अपवाद बाहेक । अबको हाम्रो नेपाल “संस्कृति र विज्ञानका” दुई धारमा आधारित बनाउनु हाम्रो भविष्यको लागि फलदायी देखिन्छ। हामीलाई के विदितै छ भने परापूर्वकाल देखि नै हामी संस्कृतिका धनी हौ र यो हाम्रो गर्व हो । यसको समय सापेक्ष निरन्तरता नै हाम्रो सभ्यता अनि सु-संकृत समाजको विकासको मूलधार हो।

हामी देख्न सक्छौ- यो विनाशकारी भूकम्पमा उर्लिएका सयौं मुलुकका सहयोगी हातहरु जो हाम्रो देशको अभूतपूर्व प्राकृतिक सुन्दरता, हाम्रो सगरमाथा, गौतम बुद्ध अनि सीता जस्ता महामानवहरुको पवित्र जन्मथलो, हाम्रो भौगोंलिक सुन्दरता अनि त्यसभित्र लुकेका बिछट्ट लोभलाग्दा विश्व सामु परिचित धरोहरहरु जो हामी नेपालीको मात्र नभई सम्पूर्ण विश्वकै गर्भमा भएको गर्व हो सो कारणले पनि हाम्रो संस्कृति अनि धरोहरलाई जीवित गर्न मानवताको हेतुले आएका हुन्।

अहिले हामी नेपाली विनाशकारी भूकम्पको चपेटामा पुरिएका छौ। तर हामीमा त्यो अटल विश्वास के छ भने हामी निश्चित पनि अहिले पुरिएका त छौ तर हामी त्यो वीज हौं जो उम्रेर एउटा बिशाल बृक्ष बन्ने चुनौती लिएर अगाडि बढीरहेका छौ।हामी नेपाली जो अहिले सीमा, परिधि र मूलक पर भएता पनि विश्वास र चुनौति भने एक समान भएको छ । जो जहाँ जसरी भए पनि अहिले सबै नेपालीजनको समान चुनौती “सुधारित समाज अनि सुनौलो बिहानीको खोजी” भएको छ ।

हामी अधिकांश नेपालीको मानसपटलमा पूर्व-अवधारणा (pre-conceived notion) के छ भने विज्ञान भन्ने बित्तिकै पश्चिमी सभ्यता वा भनौं नेपाली संस्कृति लोप गर्नलाई भित्रिएको भन्ने सोच छ तर हामी भुल्दछौं कि दिगो सम्मुनत देशको आधार नै विज्ञान र संस्कृति हो । हाम्रा कति त्यस्ता रितिहरु होलान जुन वर्तमानमा हितकर नहोलान् । ती कुरीतिलाई विवादका रुपमा समाजमा ननंग्याई एउटा विवेकशील नागरिकको रुपमा विस्तारै पन्छाएर लानु अहिलेको हाम्रो समाजलाई आवश्यक देखिन्छ । किनभने यी कुरीतिहरु पनि हाम्रा परापूर्वकालदेखि चली आएका हुन् र यसको निन्दा मात्र गर्नुमा सबैलाई मान्य नहुन पनि सक्छ । यस्ता कुरीतिहरु हाम्रो समाजमा मात्रै हुन्छन् भन्ने पक्कै पनि होइन । अनेकौ विकसित मूलुकहरुमा पनि हामीलाई अच्चम लाग्ने कुरीतिहरु छन् र बिस्तारै पन्छाउँदै अगाडि बढेको उनीहरुको इतिहासले देखाउँछ । हामी के देख्न सक्छौ भने हाम्रा परापूर्वकालका संस्कृति अनि चाडपर्व र त्यसमा खाइने बिशेष प्रकारका खाना पनि बर्सैभरि सबैले कम्तिमा एक पटक भए पनि खाऊन् भन्ने अभिप्रायले गर्दा धेरै नभएपनि केहि मात्रामा पौष्टिक तत्वको पूर्ति हुने देखिन्छ । स्वादको मात्रै विविधता देखिए पनि त्यसभित्र अन्तर्निहित वैज्ञानिकता पुष्टि हुन्छ । यस्ता अनेकौं उदाहरणहरु हामी हाम्रो संस्कृति अनि सभ्यतामा खोज्न सक्छौं र अधिकतमा विज्ञानलाई नै आधार बनाएको भेटिन सकिन्छ । यसो भन्दा फरक पर्दैन कि हाम्रा ऋषिमुनिहरू पनि वैज्ञानिक नै थिए ।

हामी देख्न सक्छौं हरेक विकसित मुलुकहरुले विज्ञानलाई नै आधार बनाएर अगाडि बढेको पाइन्छ । त्यहाँका जनताहरु पनि विज्ञानमा अधिकतम विश्वास गरि आफ्ना संस्कृतिलाई आत्मसात गरि आफ्नो समाजलाई अगाडि बढाई रहेका हुन्छन । सञ्चार माध्यममा पनि अधिकतम् सूचनाहरु बिज्ञानमा आधारित रहेर तथ्यांकसहित प्रवाह गर्छन र सत्य तथ्य प्रमाणित गर्दै जनतालाई विश्वास दिलाई रहेका हुन्छन । चाहे त्यो सूचना साना भन्दा साना प्रसंगको नै किन नहोस् । जनता पनि विवेकशील हुन्छन् र बिरलै अनावश्यक कुराका पछाडी लाग्दछन् । उनीहरुलाई विश्वास दिलाउन वैज्ञानिक तवरले पुष्टी गराउनु पर्छ त्यो पनि सम्बन्धित विज्ञबाट मात्रै चाहे त्यो कुनै पनि बिषयमा किन नहोस् । यसरि नै हाम्रा हरेक जन सत्य तथ्यलाई आत्मसात गरि आफ्नो समाजलाई एउटा नमूना समाज बनाउन सक्दछन् र त्यो गर्न त्यति गाह्रो पनि हुँदैन ।विवेकशील हुनलाई साक्षर एव‌ शिक्षित नै हुन पर्छ भन्ने छैन- त्यो विचार, भावना, करुणा अनि त्यो मन हुनु पर्छ जसले सहि गलतको भेद स्वयम्ले छुट्याउन सक्छ न की अरुको विचार एवं भोगाइले । त्यहि विवेकशील व्यक्तिले नै समाजमा सकारात्मक सन्देशको प्रवाह गर्छ । अहिले हामीलाई विवेकशील व्यक्तिको आवश्यकता झनै परेको छ ।

उदाहरणकै लागि कुनै एक क्षेत्र लिनु पर्दा चिकित्सा विज्ञानलाई लिन सकिन्छ । अहिले हाम्रो देशमा यो विज्ञानको बिस्तारै विस्तार हुँदैछ जुन अति नै सकारात्मक कुरो हो । यतिमात्र हो कि यो विस्तार सीमित वर्ग अनि सिमित क्षेत्रमा मात्रै निहीत हुन पुगेको छ । यस्ता समस्या विस्तारका समयमा हुनु स्वाभाविक पनि हो र समय क्रममा कमि कमजोरीलाई हटाउँदै सबैको सहज पहुँचमा विस्तारित गर्न सकिन्छ यसलाई एउटा सचेत नागरिकले यहि हिसाबले नै बुझ्नु पर्ने हुन्छ । अहिलेको परिस्थितिलाई हेर्ने हो भने संचार माध्यमनै एउटा यस्तो वाहक हो जसले अधिकतम मात्रामा सचेतना जनमानसमा पुर्‍याउन र सचेत अनि सभ्य समाजको विकासमा मद्दत गर्न सक्दछ । इन्टरनेटको सहज पहुँच र बढ्दो सामाजिक संजालको उपयोगले सूचनाको जति सजिलो आदान प्रदान हुन्छ त्यति नै अफवाहहरु डढेलोसरी फैलिन्छ । गलत सन्देश र खबरका कारण धेरै ब्यतिहरुमा नकरात्मक असर पर्न सक्छ । त्यसकारण अबको खबर अधिकारिक र विज्ञानमूलक हुनुपर्दछ जसबाट समाजले साना भन्दा साना कुराको पनि सत्य तथ्य निर्क्योल गर्न सक्दछ ।

उठ-बस, खान-पिन, लगाई-खुवाइ जस्ता अनेकौ क्रियाकलाप सञ्चार माध्यम बाट प्रवाह गर्नु पर्दछ जुन अहिले हामी केहि मात्रामा रेडियोमार्फत पाइराखेका छौं । यसमा रेडियो नेपालको सहभागिता उल्लेखनिय देखिएको छ यो विपदको क्षणमा । त्यसैगरि टेलिभिजनको माध्यमबाट पनि यो विपदको घडीमा मात्र नभई सामान्य दैनिकीमा पनि अधिकतम मात्रामा ज्ञान बिज्ञानलाई प्राथमिकता र न्यून मात्रामा मनोरञ्जनका कार्यक्रम प्रशारण हुनुपर्दछ । हामी नेपाली केहि दिनमै ज्ञान विज्ञान र समाज सुधारका कार्यक्रममा रमाउन थाल्नेछौं । हामी नेपालीमा सिक्ने चाह छ मात्र हामीलाई दूरदर्शी अभिभावकको खाँचो छ । अबको हाम्रो समाजलाई विवेकशील बनाउनमा सञ्चार माध्यमले बैज्ञानिकहरुको सहकार्यमा ठूलो भूमिका खेल्नुपर्दछ र सरकारलाई पनि दिशानिर्देश गर्न सक्ने हुनु पर्दछ ।

जब हामीलाई कर्म गर्न सिकाइन्छ र अवसरको व्यवस्था मिलाइन्छ तब हामी नेपालीको सम्मुनती धेरै टाढा छैन । जबकी हामी नेपाली अरुको मुलुकमा त बेपरवाह दिन रात नभनी नङ्ग्रा खियाएर अरु मूलुकको अभिभारा बोक्न त पछि पर्दैनौ भने आफ्नो मातृभूमिको लागि नगर्ने त कुरै उठ्दैन ।

जब हामी विचारमा परिवर्तन, हातमा सीप अनि मनमा उत्साह बोकेर अगाडि बढदछौं तब अवसर, जोस अनि जागर स्वतः हामीलाई पछ्याउनेछ । तब एउटा समुन्नत अनि विवेकशील समाज जन्मनेछ । यो सपनालाई बिपना बनाउने नै अहिले हाम्रो मूलुकको सबै भन्दा ठूलो खाँचो हो ।

(लेखक हाल जापानमा न्युरोलोजीमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया