न्यूयोर्क – विश्वकै ब्यापारिक राजधानीका रुपमा परिचित अमेरिकाको न्युयोर्कमा आइतवार एनआरएन अमेरिकाको आयोजनामा नेपाल चिनाउने नेपाली मेला भब्यरुपमा सम्पन्न भयो । एनआरएन अमेरिकाले नेपलिज अमेरिकन फाउण्डेशनसँगको सहकार्यमा ज्याक्सनहाइटमा गरेको मेलाको हजारौं नेपालीहरुले अवलोकन गरे ।
दक्षिण एसियालीहरुको बाक्लो बसोबास रहेको न्युयोर्कको ज्याक्सनहाइटमा गरिएको नेपाली मेलामा नेपाल घन्किदा अमेरिकनहरुको पनि ध्यानाकर्षण गरेको थियो । बंगाली, भारतीय र पाकिस्तानी मुलका अमेरिकीहरुले पनि चासो मानेर मेलाको अवलोकन गरेका थिए ।
मेलाको उदघाटन नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले गर्नुभएको थियो । बोडेले पानसमा बत्ति बालेर मेलाको उदघाटन गर्दै नेपाली मेलाका आयोजकहरुको प्रसंसा गर्नुभयो । उदघाटन कार्यक्रममा बोडेलाई आयोजक एनआरएन अमेरिका र नेपलिज अमेरिकन फाउण्डेशनका तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो । एनआरएन अमेरिकाका तर्फबाट अध्यक्ष खगेन्द्र क्षेत्री र नेपलिज अमेरिकन फाउण्डेशनका तर्फबाट सोनाम लामाले बोडेलाई संयुक्तरुपमा मायाको चिनो प्रदान गर्नुभएको हो । लामा एनआरएन आईसीसीका डिआरसी हुनुहुन्छ ।
एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जीसीले मायाको चिनोमा लेखिएका शब्दहरु पढ्दै मेलाको उदघाटनका लागि उपस्थित भइदिएकोमा नेपालका लागि अमेरिकी राजदूत बोडेलाई धन्यवाद दिनुभयो । अमेरिकन र नेपाली राष्ट्रिय गानसमेत प्रस्तुत गरिएको उदघाटन कार्यक्रमको संचालन नेपलिज अमेरिकन फाउण्डेशनका संस्थापक अमित शाहले गर्नुभएको थियो ।
मेलामा उपस्थित अमेरिकन नेताहरुले नेपालीहरुको खुबै प्रशंसा गरे । उनीहरुले न्युयोर्कको ज्याक्सनहाइटमा भब्य नेपाली मेला गर्न सफल भएकोमा नेपालीहरुलाई बधाई समेत दिए । न्युयोर्क स्टेटको सिनेटरका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार जोन लिउले पनि न्युयोर्कमा नेपालीहरुको संख्यामा आएको बृद्धिबाट आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले आफू गतवर्ष पनि मेलामा सहभागी भएको स्मरण गर्दै अमेरिकन राजनीतिको मूलधारमा नेपालीहरुपनि समावेश होउन् भन्ने आफ्नो चाहना रहेको समेत बताउनुभयो । उहाँले राजनीतिक, आर्थिक र सामाजिक रुपमा अमेरिकाको मूलधारमा नेपलिज अमेरिकनहरुको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता मेलाहरु लगातार हुनुपर्ने बताउँदै आफू संधै सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।***








