काठमाडौँ – भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमा भएको तथ्यविपरित गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानको तर्फबाट स्विडेनमा गरिएको कूटनीतिक प्रयासले सार्थकता प्राप्त गरेको छ ।
स्विडेनको पाठ्यक्रममा भगवान गौतम बुद्धको जन्म नेपालमा नभएर उत्तर भारतमा भएको भनिएका पाठ्यपुस्तकलाई सच्याउन स्विडेन सरकारलाई अनुरोध गर्न युरोपेली संघका लागि नेपाली राजदूत राममणि पोखरेलको कार्यकक्षमा गत २७ मार्च २०१४ का दिन लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य, अभियानका बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपाने तथा साहित्यकार तथा अभियानका बेल्जियम सदस्य विमल गिरीसहितको तीन सदस्यीय प्रतिनिधिमण्डलले राजदूत पोखरेलसमक्ष कार्यन्वयनका लागि अनुरोधसहित पाठ्यपुस्तकलाई सच्याउन चाहिने आवश्यक तथ्यगत प्रमाणहरु प्रदान गर्दै स्विडेनको जिम्मेवारी सम्हाल्दै आउनुभएका राजदूत मुक्तिनाथ भट्टसँग आवश्यक कूटनीतिक प्रयासका लागि अनुरोध गरेको थियो । राजदूत पोखरेलले तत्कालै कार्यन्वयन प्रक्रिया अगाडि बढाउदै अभियानले सुम्पेका सम्पूर्ण कागजात राजदूत भट्टलाई पठाई दिनुभएको थियो ।
गत डिसेम्बर महिनामा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यको पहल र समुपस्थितिमा स्विडेनमा अभियानको राष्ट्रिय समिति गठन भएको थियो । सो अवसरमा युरोप सल्लाहकार आचार्यले स्विडेनको पाठ्यक्रममा बुद्धको जन्मस्थल सम्बन्धमा गलत जानकारी भएको थाहा भएकोले त्यस्ता पाठ्यपुस्तक सच्याउन कूटनीतिक प्रयास आवस्यक रहेको धारणा व्यक्त गर्दै स्विडेन राष्ट्रिय समितिका राष्ट्रिय संयोजक कृष्णकुमार ढकालसमक्ष पुस्तकहरु अभियानलाई उपलव्ध गराई दिनु हुन अनुरोध गर्नु भए पछि स्टकहोम विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता डा. कटक मल्ल तथा अभियानका सदस्य शंकर गौतमको सहयोगमा अभियानको स्विडेन राष्ट्रिय समितिका राष्ट्रिय संयोजक ढकालमार्फत अभियानका युरोप सल्लाहकार आचार्यलाई दुई पुस्तकहरु उपलव्ध भएका थिए ।
त्यहाँको कक्षा ६ देखि ९ सम्मको पाठ्यक्रममा रहेको “सो डाईरेक्ट रेलिजियन -३” नामक पुस्तकको १३१ पेजमा स्विडिस भाषामा तर यहाँ त्यसको अग्रेजी अनुवाद अनुसार “इन नर्थर्न इन्डिया आर दि प्लेसेज होयर बुद्ध वाज बोर्न” भनेर लेखिएको र अर्को “वर्ल्ड्स रेलिजियन” नामक पुस्तकको १६६ पेजमा “बुद्ध वाज बोर्न एज प्रिन्स सिद्दार्थ गौतम इन लुम्बिनी बिट्विन दि बोर्डर अफ इन्डिया एण्ड नेपाल, दि करेन्ट सिटि बिहार” भनेर लेखिएको पाइयो । यी दुई पुस्तकहरु अभियानका युरोप सल्लाहकार आचार्यलाई उपलव्ध भए पछि पाठ्यपुस्तक सच्याउन कूटनीतिक प्रयास सुरु गरिएको हो ।
डेनमार्कमा अवस्थित स्विडेनको जिम्मेवारी सम्हाल्दै आएको नेपाली दूतावासले बुद्धको जन्मस्थल सम्बन्धि गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन अभियानले गरेको अनुरोधलाई कार्यान्वयन गर्न ३१ मार्च २०१४ मा स्विडेनका लागि अवैतनिक कन्सुल जेनेरल डा. रोलाण्ड दह्लमानसमक्ष आग्रह गरेको थियो ।
दूतावासको अनुरोध अनुसार तत्कालै कन्सुल जेनेरल डा. दह्लमानले उल्लेखित पुस्तकहरुको अध्ययन र अनुसन्धानसंगै ती पुस्तक प्रकाशकहरुसंग सम्पर्क र भेट गरि तथ्यगत प्रमाणहरुका आधारमा त्यसमा भएका त्रुटिहरुलाई सच्याउन अनुरोध गर्नुभएको थियो । ***
डेनमार्कस्थित नेपाली दुतावासले लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानको मिति २७ मार्च २०१४ को पत्रलाई उदृत गर्दै नेपाली दुतावास ब्रुसेल्सका नाममा पठाएको इमेल पत्र अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यलाई प्राप्त भएको छ । उक्त पत्रमा “सो डाईरेक्ट रेलिजियन -३” नामक पुस्तकको प्रकाशन र बिक्रि वितरण बन्द गरिएको र त्यसै किसिमको नयाँ प्रकाशित पाठ्यपुस्तकमा फोटोको मुनि भगवान बुद्धको जन्मस्थल लुम्बिनी, नेपाल भनेर लेखिएको छ । साथै अर्को “वर्ल्ड्स रेलिजियन” नामक पुस्तकको समेत बिक्रि वितरण बन्द भएको व्यहोरा उल्लेख छ ।
पत्रमा थप लेखिएको छ, यस्तो लग्दछ यी विषय अब विगत भइसके । साथै ती पुस्तक प्रकाशकहरु “सानोमा उत्बिल्द्निंग” र “लास्फोर्लागेत” लाई भविष्यमा भगवान बुद्धको जन्मस्थल विषयमा गल्ति नदोहोर्याउन सतर्क गराउदै अनुरोध समेत गरिएको छ ।








