आम्स्ट्रडाम-जनसम्पर्क समिति नेदरल्याण्डको पाँचाैं वार्षिक साधारण सभा तथा युरोप भेला हालै नेदरल्याण्डसको राजधानी आम्स्ट्रडाममा सम्पन्न भएको छ । युरोप भरी रहेका कांग्रेसीहरुको बृहद भेलाले घोषणापत्र जारी गर्दै साधारण सभा सम्पन्न गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दीपक रेग्मीको रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. प्रकाश शरण महतले नेपालमा काँग्रेसको नेतृत्वमा सरकार बने लगत्तै बिदेशीहरु नेपालमा बढी भन्दा बढी लगानी गर्न इच्छुक रहेको जनाउदै विदेशमा रहने नेपालीहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्नु भएको थियो । क्षेत्रीय स्तरमा जनसम्पर्क समितिहरुको महत्व र आवश्यकता अझै बढ्दै गएको बताउँदै महतले आभ्यासबाटै सबैकुरा बिधानमा समेटिने हुनाले जनसम्पर्क समिति युरोपलाइ सबै मिलेर सर्बसम्मत निर्णय र ब्यबस्थित तरिकाले केन्द्रमा आएमा केन्द्रले बिधानमा समेट्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष डम्बर कोइरालाले अतिथिहरूलाइ स्वागत गरेका थिए । कार्यक्रममा अतिथिको रूपमा ट्रेड युनियन माहासंघका बरिष्ट उपाध्यक्ष रामजी कुँवर, महासचिब महेन्द्रप्रसाद यादब, जनसम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङ, उपाध्यक्ष पूर्ण हमाल, पुष्प भण्डारी, महामन्त्री गंगाधर गौतम, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, एनआरएन पोर्चुगलका अध्यक्ष रमेश गुरुङ, स्पेनका अध्यक्ष एकराज गिरी, बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, नेदरल्याण्डसका अध्यक्ष कृष्णराज अधिकारी त्यस्तै जनसम्पर्क समिति पोर्चुगलको तर्फबाट भिम केसी ‘कमल’, तरुणदल युरोपका अध्यक्ष शैलेश मल्ल, एनआरएन केन्द्रीय सल्लाहकार शशी पौड्याल, नेजस नेदरल्याण्डसका संस्थापक अध्यक्ष नारायण प्रसाद आचार्य, जनसम्पर्क समिति डेनमार्कका उपाध्यक्ष दिपकराज रिजाल, लोकतान्त्रिक मंचका अध्यक्ष टिकाराम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

पहिलो साधारण सभा सत्रको संचालन तथा राजनैतिक प्रतिबेदन संस्थाका माहासचिब उत्तम कंडेलले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन समितिका कोषाध्यक्ष युबराज पन्थीले प्रस्तुत गरेका थिए। दोस्रो सत्र युरोप भेलामा “सबै नेपाली जनसम्पर्क समितिहरुको एउटै आब्हान-आर्थिक समवृद्धी, लोकतन्त्र र एकताको अभियान” भन्ने मूल नारालाई सार्थक बनाउन विभिन्न देशहरुबाट समितिको प्रतिनिधित्व गर्दै आएका प्रतिनिधिहरुले प्रवासमा रहेका प्रजातन्त्र र लोकतन्त्र प्रति आस्थावान नेपालीहरुलाई कसरी अझै समेटेर अगाडी बढ्न सकिन्छ र समितिलाई अझै कसरी मजबुत बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरेका थिए। उपस्थितहरूले युरोप कांग्रेसलाई एक ढिक्का भएर अगाडि बढाउनु आजको आबस्यकता र अपरिहार्यता रहेको निस्कर्ष निकालेका थिए । साथै भेलाले महाधिवेशनको मिति यथाशक्य चाँडो तोकि संस्थालाइ संस्थागत प्रकृयामा अगाडि बढाउनुपर्ने कुरामा जोड दिएका थिए । 
युरोप भेलाको अध्यक्षता युरोप कांग्रेसका अध्यक्ष दिल गुरुंगले गरेका थिए भने संचालन नेजस युरोपका महामन्त्री गंगाधर गौतमले गरेका थिए।***
तपाईको प्रतिक्रिया








