बैंकक – थाईल्याण्डका जेलमा रहेका नेपालीहरुलाई नेपाली दूताबास र गैर आवासीय नेपाली संघ (एनआरएनए) थाईल्याण्डको संयुक्त टोलीले शुक्रबार भेटी उनीहरुको अवस्था बारेमा जानकारी लिएको छ । भ्रमण टोलीमा थाईल्याण्डका लागि कार्यबाहक राजदूत डोरनाथ अर्याल र एनआरएनए थाईल्याण्डका अध्यक्ष खगेन्द्रराज ढकाल संलग्न रहनुभएको थियो ।
भेटका क्रममा कैदीहरुले आफुहरुलाई नेपाल पठाई बाँकी सजाय आफ्नै भूमिमा भोग्ने वातावरण बनाइदिन एनआरएनएलाई अनुरोध गरेका थिए । यसैगरी उनीहरुले थाइल्याण्डका राष्ट्रप्रमुख समक्ष क्षमादानका लागि कूटनीतिक पहल गरिदिन दूतावासलाई अनुरोध गरेका थिए ।
उनीहरुको दैनिकजीवन पनि भाषा नबुझेर अत्यन्त कठिन भएको गुनासो धेरै कैदीहरुको रहेको थियो ।
हालसम्म थाई सरकारले विभिन्न २४ राष्ट्रसंग कैदीहरु सम्बन्धित देशमा हस्तान्तरण गर्न मिल्ने सुपुर्दगी सन्धि गरे पनि नेपालसंग भने अहिलेसम्म त्यो सम्बन्ध कायम हुन नसक्दा कैदीहरु थाइल्याण्डकै जेलजीवन बिताउन बाध्य छन् । सो अवसरमा एनआरएन अध्यक्ष ढकालले सुपुर्दगी सन्धीका लागि नेपाल सरकारसमक्ष पहल गर्ने कैदीहरुलाई आश्वासन दिएका थिए ।
नेपाली सघसंस्थाहरुको तर्फबाट थाइल्याण्डको जेलमा रहेका नेपाली कैदीहरुलाई भेट्ने अनुमति मिलेको यो पहिलो पटक हो । कैदी भेटका अवसरमा उक्त टोलीले नेपाली क्यालेण्डर, नेपाली-अंग्रेजी शब्दकोष, केहि ज्ञानवर्द्धक नेपाली पुस्तकहरु र नेपालीमा उल्था गरिएको जेल निर्देशिका हस्तान्तरण गरेको थियो ।
टोलीले बांग क्वांग केन्द्रीय जेल र केन्द्रीय महिला जेलमा रहेका नेपालीहरुलाई भेटेको हो । बांग क्वांग केन्द्रीय जेलमा हाल २१ जना नेपाली पुरुषहरु छन् भने केन्द्रीय महिला जेलमा ९ नेपाली महिलाहरु छन् । हाल थाइल्याण्डमा ७० जना नेपाली कैदीहरु रहेका छन । थाई सरकारले अपराधको प्रकृति हेरी कैदीहरुलाई विभिन्न ५ जेलमा राख्ने गरेको छ ।
अधिकांश नेपाली कैदीहरु लागु पदार्थ ओसारपसार सम्बन्धि अपराधमा संलग्न भएको आरोपमा आजिवन काराबास सजायँ भोगिरहेको उनीहरुलाई भेट्दा थाहा लागेको छ । केहीले भने थाइ राष्ट्रप्रमुखबाट क्षमादान पाएर आफ्नो काराबास सजायँलाई छोट्याउन सफल भएका छन । ढकालका अनुसार एनआरएनए थाइल्याण्डले राजदूताबाससंग समन्वय गरी कैदीहरुलाई बर्षमा ३ पटक भेट्ने कार्यतालिका तय गरेको छ ।
कैदीहरुसंगको कुराकानीबाट धेरै अशिक्षित नेपाली युवाहरुलाई लागु पदार्थ ओसारपसारमा ठूला ठूला माफियाहरुले प्रयोग गरेको अनुमान अध्यक्ष ढकालको छ । कैदीहरूमा अधिकांश तामाङ, गुरुङ र अन्य जनजातीहरुको बाहुल्य देख्दा उनीहरुको सोझोपनको फाइदा लिई यस्ता अपराधमा संलग्न गराउन माफियाहरु सफल भएको ढकाले बताए । यसका लागि जनजातीसंग सरोकार राख्ने संस्थाहरुले थप चेतनामुलक कार्यक्रम गर्नुपर्ने र नेपाल सरकारले पनि यस्ता जोखिममा पर्ने समुदायलाई लक्षित गरी कार्यक्रम ल्याउनुपर्ने धारणा उनको छ।








