Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
काठमाडौं – तराईका जिल्लामा मात्र पकड जमाउँदै आएका केही मधेसवादी दलले संविधानसभा चुनावमा पहाड र हिमाली जिल्लामा समेत चुनाव लड्ने तयारी थालेका छन् ।
विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, राजेन्द्र महतो नेतृत्वको सद्भावना र रामनरेश राय नेतृत्वको राष्ट्रिय सद्भावना पार्टी लगायतले मधेससहित पहाड र केही हिमाली जिल्लाबाट समेत आगामी चुनावमा प्रत्यक्षका लागि उम्मेदवार खडा गर्ने गृहकार्य थालेका हुन् । ०६४ को संविधानसभा निर्वाचनमा मधेसवादी दलले एक/दुई जिल्लाबाहेक पहाडी र हिमाली क्षेत्रमा उम्मेदवारी दिएका थिएनन् ।
सद्भावनाका महतोले तराई/मधेससहित ६४ जिल्लामा पार्टी बिस्तार गरेका छन् भने गच्छदार र यादवले पहाड र केही हिमाली गरी ४० भन्दा बढी जिल्लामा । रायको पार्टी उपत्यकाका तीनसहित केही पहाडी जिल्लामा बिस्तार भएको छ । परिणाम जे आए पनि उम्मेदवार उठाएर पहाड र हिमाली क्षेत्रका जनतामा मधेसी पार्टीबारे भावनात्मक सम्बन्ध स्थापित गर्ने बताउन थालेका ती दलहरूको मुख्य उद्देश्य समानुपातिक मत बढाउनु पनि हो ।
फोरम लोकतान्त्रिकले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित काभ्रे, सिन्धुपाल्चोक, दोलखा, धादिङ, तनहुँ, कास्की, अछाम, दाङ, धनकुटा, भोजपुर, उदयपुर, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुलीलगायत जिल्लामा प्रत्यक्षका लागि उम्मेदवारी दिने वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले बताए । उनका अनुसार इलाम, सुर्खेत, दैलेख, डडेलधुरा, डोटी, बझाङलगायत जिल्लाबाट समेत उठ्ने योजना पार्टीले बनाएको छ । ‘संगठन बिस्तार भएका सबै जिल्लाबाट उम्मेदवार खडा गर्छौं,’ उनले भने, ‘पहाडी र हिमाली क्षेत्रका बासिन्दाको पनि मन जित्ने विश्वास छ ।’ चुनावसम्मै पहाडी र हिमाली जिल्लामा पार्टी बिस्तार अभियान तीव्र पार्ने फोरम लोकतान्त्रिकको योजना छ ।
फोरम नेपालले पनि पहाडी जिल्लाबाट उम्मेदवार उठाउने वरिष्ठ नेता भरतविमल यादवले बताए । ‘मधेसका अलावा संगठन भएका पहाडी र हिमाली जिल्लामा पनि उम्मेदवार दिनेछौं,’ यादवले भने, ‘मधेसका अलावा पहाडी र हिमाली जिल्लाबाट सद्भाव मत पाउने आशा छ ।’
अघिल्लो संविधानसभा चुनावमा पहाडी मूलका अर्जुन थापाले फोरम नेपालबाट धनकुटामा उम्मेदवार बनेर ७ हजार मत ल्याएका थिए । गत चुनावमा फोरम नेपालकै उम्मेद्‍वार भएर पहाडी मूलका शरतसिंह भण्डारी पनि महोत्तरी ६ बाट निर्वाचित भएका थिए । अहिले आफ्नै नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरेका छन् ।
यस पटकको चुनावमा पनि फोरम नेपालले मधेसका २० सहित धनकुटा, उदयपुर, इलाम, पाँचथर, चितवन, मकवानपुर, दाङ, तनहुू, नुवाकोट, कास्की, सुर्खेत, दैलेख, डडेलधुरालगायत जिल्लामा उम्मेदवार उठाउने योजना बनाएको छ । ‘हाम्रो पार्टी मधेसको मात्रै होइन, सबैको हो भन्ने सन्देश दिन पनि तराईदेखि हिमालसम्मै उम्मेदवारी दिनेछौं,’ केन्द्रीय सदस्य अभिषेकप्रताप शाहले भने ।
त्यस्तै महतो नेतृत्वको सद्भावनाले उपत्यकाका तीन जिल्लासहित भोजपुर, धनकुटा, तनहुँ (नरेन्द्र वाग्ले), गोरखा (सीता घले पाठक), कास्की (हिक्मत मियाँ), मकवानपुर, चितवन (अर्जुन उप्रेती), तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर, नुवाकोट (शम्भु तिमल्सिना), धादिङ (रामेश्वर पोखरेल), जाजरकोट (यमबहादुर बस्नेत) मा उम्मेदवार खडा गर्ने सद्भावनाका केन्द्रीय सदस्य योगेन्द्रराय यादवले बताए । यस्तै, इलाम (टीका खाती), सिन्धुली (विराज शर्मा), सिन्धुपाल्चोक (सविन श्रेष्ठ), काभ्रे (भीम लाल), गुल्मी( अर्घाखाँची (विष्णु ढकाल), पाल्पा (गोविन्द गजमेर), मुगु (दलबहादुर शाही), कालिकोट (शिवलाल रोकाया), खोटाङ (सुनील कार्की), दोलखा (राजु शर्मा) मा पनि सद्भावनाले प्रत्यक्ष उम्मेदवार उठाउने छ । स्याङ्जा (युक्तनारायण सुवेदी), पर्वत (शिव पौडेल), रोल्पा (जालबहादुर बुढा), प्यूठान (तिलक पाण्डे), सल्यान (राजेन्द्र रावल), दैलेख (थीरराज रेग्मी), सुर्खेत (धनरूपा शाही) र बझाङ (सुशीला श्रेष्ठ), डडेलधुरा र डोल्पा (केशव भट्ट) मा समेत उम्मेदवार उठाइने यादवले बताए ।
मधेसकै अर्को दल राष्ट्रिय सद्भावनाले पनि तराईका १६ सहित काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे (बालकृष्ण बञ्जारा), सिन्धुपाल्चोक (सोमबहादुर तामाङ), नुवाकोट र तनहुँ (अमरसिंह खाती) मा उम्मेद्‍वार खडा गर्ने महासचिव कौशलेन्द्र शर्माले बताए ।
मधेसका तमलोपा, तमलोपा नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, संघीय सद्भावना, फोरम गणतान्त्रिकलगायतको भने पहाडी क्षेत्रमा संगठन बिस्तार भइसकेको छैन ।

तपाईको प्रतिक्रिया