टोकियो – जापानमा नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको ‘नेपाल फेस्टिबल’को १५औं संस्करणका लागि स्वयंसेवक आह्वान गरिएको छ । नेपाली राजदूतावास जापान, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा आगामी जुलाई महिनामा यो महोत्सव हुन लागेको हो ।
टोकियोस्थित प्रसिद्ध ओदाइबा पार्कमा आगामी जुलाई १८, १९ र २० गते तीन दिनसम्म फेस्टिबल सञ्चालन हुनेछ । महोत्सवलाई भव्य, व्यवस्थित र सफल रूपमा सम्पन्न गर्नका लागि ठूलो संख्यामा स्वयंसेवकहरूको आवश्यकता परेको आयोजकले जनाएको छ ।
यी क्षेत्रमा खटाइनेछ स्वयंसेवक
आयोजकका अनुसार सहभागी हुन इच्छुक स्वयंसेवकहरूलाई मुख्यगरी ५ वटा कार्यक्षेत्रमा जिम्मेवारी प्रदान गरिनेछ:-
- पार्किङ तथा सवारी व्यवस्थापन
- धुम्रपान तथा मद्यपान व्यवस्थापन (अनुशासन र सुरक्षा मापदण्ड)
- भीड व्यवस्थापन तथा सुरक्षा सहयोग
- मञ्च तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन
- सरसफाइ तथा संरचना व्यवस्थापन
महोत्सवको मुख्य तीन दिनका अतिरिक्त पूर्वतयारीका लागि जुलाई १७ र समापनपछिको व्यवस्थापनका लागि जुलाई २१ गते समेत स्वयंसेवकहरूले समय दिनुपर्ने आयोजकको भनाइ छ ।
विशेष गरी जापानमा रहेका नेपाली व्यवसायी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, विद्यार्थी तथा विभिन्न पेसामा आबद्ध नेपाली समुदायलाई यस ऐतिहासिक महोत्सवमा आफ्नो श्रम र अनुभव प्रदान गरी सहयोग गर्न अनुरोध गरिएको छ । ‘हामी सबैको साझा सहभागिता, सहयोग र समर्पणले नै फेस्टिबललाई अझ भव्य र सभ्य बनाउन सकिन्छ,’ आयोजकले जारी गरेको सूचनामा भनिएको छ ।
स्वयंसेवकका रूपमा सहभागी हुन चाहने महानुभावहरूले आयोजकले उपलब्ध गराएको अनलाइनमार्फत आफ्नो विवरण र उपलब्ध हुन सक्ने समय स्पष्ट खुलाएर दर्ता गर्नुपर्नेछ । थप जानकारीका लागि स्वयंसेवक व्यवस्थापन समितिका संयोजक दिपक बुर्जा मगर (०७०-६५५५-३९२२) लाई सम्पर्क गर्न सकिनेछ ।
अनलाइन फारम :- १५औँ नेपाल फेस्टिबल २०२६ स्वयंसेवक (Volunteer) फारम









