टोकियो – जापानको इबाराकी प्रान्तस्थित मितो सहरमा एक ५४ वर्षीय बेरोजगार छोराले आफ्नै ८८ वर्षीय वृद्ध बुबाको हत्या गरेको सनसनीपूर्ण घटना बाहिर आएको छ । वृद्ध बुबासँगै बस्दै आएका ताकेओ साकातालाई प्रहरीले हत्याको आशङ्कामा पक्राउ गरेको छ ।
अभियुक्त साकाताले गत शुक्रबार दिउँसो ४:३० देखि राति ८ बजेको बीचमा ८८ वर्षीय बुबा तोराओको घाँटी थिचेर हत्या गरेको अभियोग लगाइएको छ । वृद्ध तोराओ सोही दिन ‘डे केयर’ (ज्येष्ठ नागरिक हेरचाह केन्द्र) बाट घर फर्किएलगत्तै यो घटना घटेको विश्वास गरिएको छ ।
हत्यापछि अभियुक्त ताकेओले शुक्रबार राति ८:१० बजेतिर प्रहरीको आपत्कालीन नम्बरमा फोन गरेर अपराध स्वीकार गरेका थिए । उनले प्रहरीलाई भनेका थिए, ‘मैले आफ्नै बुबाको घाँटी थिचें, अहिले उहाँको श्वास फेरिएको छैन ।’ सूचना पाउनेबित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले वृद्धलाई मृत अवस्थामा फेला पारेको थियो ।
प्रहरीले अभियुक्त साकातालाई हिरासतमा लिएर कानुनी कारबाही अगाडि बढाएको छ । यद्यपि, उनले आफ्नै बुबाको हत्या कुन कारणले गरे भन्नेबारे हालसम्म कुनै ठोस खुलासा (मनसाय) नगरेको प्रहरीले जनाएको छ ।








