काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिल र मोरक्को खेल १-१ को बराबरीमा राेकिएकाे छ । शनिबार न्यु जर्सीस्थित न्युयोर्क-न्यु जर्सी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजिल हारबाट जोगिन भिनिसियस जुनियरको शानदार गोलमा निर्भर रह्यो ।
सन् २०२२ विश्वकपको सेमिफाइनलिस्ट मोरक्कोले २१औँ मिनेटमा अग्रता लिएको थियो । ब्राहिम डियाजको उत्कृष्ट पासमा इस्माइल साइबारीले ब्राजिलका डिफेन्डर मार्किन्होस र गाब्रियललाई पछि पार्दै गोलरक्षक एलिसन बेकरमाथिबाट आकर्षक चिप प्रहार गर्दै गोल गरे । तर मोरक्कोको अग्रता धेरै समय टिकेन । ३२औँ मिनेटमा ब्राजिलका स्टार फरवार्ड भिनिसियसले व्यक्तिगत कौशल प्रदर्शन गर्दै टोलीलाई खेलमा फर्काए ।
विश्वकप इतिहासमा कीर्तिमानी छैटौं उपाधिको खोजीमा रहेको ब्राजिलका लागि यो नतिजाले अझै धेरै सुधार आवश्यक रहेको संकेत गरेको छ । प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा ब्राजिल पहिलो पटक विश्वकप खेलिरहेको छ । पहिलो खेलबाट दुवै टोलीले एक–एक अंक जोडेका छन् । अब ब्राजिलले आफ्नो दोस्रो खेलमा हाइटीसँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले स्कटल्यान्डको सामना गर्नेछ ।
अर्काे खेलमा हाइटीलाई १-० ले पराजित गर्दै स्कटल्यान्ड समूह सी को शीर्ष स्थानमा उक्लेको छ । यो जितले स्कटल्यान्डको तीन अंक भएको छ ।
खेलको एक मात्र गोल जोन म्याकगिननले ड्रिंक्स ब्रेक लगतै २८ औं मिनेटमा गोल गरे । स्कटल्यान्ड विश्वकपमा २८ वर्षयता पहिलो पटक खेलिरहेको छ र त्यसैले म्याकगिननको गोलको ऐतिहासिक महत्त्व रहनेछ ।
यस्तै समूह डी को खेलमा अस्ट्रेलियाले टर्कीएलाई २–० ले पराजित गरेको छ । यो जितपछि अस्ट्रेलिया सहआयोजक अमेरिकासँगै समूहको शीर्ष दुईमा रह्यो । यो समूहमा अमेरिका तीन अंकसहित शीर्ष स्थानमा छ । अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराएको थियो ।








