काठमाडौं – बोउलेम खोउखीले खेलको अन्तिम समयमा गोल गरेपछि कतारले फिफा विश्वकप २०२६ मा स्विट्जरल्यान्डलाई १-१ को बराबरीमा रोक्दै अंक खोसेको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा सुरुवाति अग्रता जोगाउन नसक्दा स्विट्जरल्यान्ड बराबरीमा रोकिएको हो ।
बराबरीपछि कतारले विश्वकपमा पहिलो अंक जोडेको छ । सन् २०२२ मा आयोजकको रुपमा पहिलोपटक विश्वकप खेलेको कतारले कुनै पनि अंक जोड्न सकेको थिएन । स्विट्जरल्यान्डले खेल अवधीभर कतारलाई दबाबमा राख्दै गोल गर्ने दर्जन बढी अवसर पाएपनि फिनिसिङ हुन सकेन भने कतारका गोलकिपरले पनि उत्कृष्ट प्रदर्शन गरे । खेलमा स्विट्जरल्यान्डले ६० प्रतिशत भन्दा बढी पोसेसन राखेको थियो । तर कतारले अन्तिमसम्म हार मानेन र इन्जुरी टाइममा गोल फर्काउन सफल भयो ।
सन् २०२२ मा आयोजक राष्ट्रको रुपमा विश्वकप खेलेको कतार यसपटक छनोट चरणमा पार गरेर विश्वकपमा छनोट भएको हो । स्विट्जरल्यान्डले भने १३औं विश्वकप खेलेको छ । सन् २०२२ मा कतार समूह चरणबाट बाहिरिँदा स्विट्जरल्याण्ड अन्तिम १६ पुगेको थियो ।








