काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख लोकमानसिंह कार्कीले आफू चढ्न डेढ करोढ रुपियाँ पर्ने नेपाल विद्युत् प्राधिकरणको प्राडो गाडी झिकाएका थिए । तर, आयोगभित्रैबाट सो गाडी नचढ्न दबाब आएपछि एक रात राखेर सुटुक्क फिर्ता गरेका छन् ।कार्की प्रमुखमा नियुक्त भएपछि आयोगले पाँच दिनअघि मात्रै प्राधिकरणको ट्रान्सफर्मर खरिदमा भएको अनियमिततामा संलग्नहरूसित बयान लिन थालेको थियो । त्यसको चार दिन नबित्दै बुधबार दिउँसो प्रमुख आयुक्त कार्कीले प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादव चढ्ने बा ६ च १००९ नम्बरको प्राडो गाडी आफू चढ्न मगाएका थिए ।
सरकारी र संस्थानका गाडी दुरुपयोग भएमा सचेत गराउनुपर्ने आयोगका प्रमुख नै ‘अवैध ढंगले महँगो र सुविधा सम्पन्न गाडी चढ्नु राम्रो नहुने’ भन्दै कार्यालयभित्रैबाट विरोध भएपछि कार्कीले एक रात राखेर गाडी सुटुक्क फर्काएका हुन । आफ्नो गाडी अख्तियारका प्रमुखले चढ्न लगेपछि कार्यकारी निर्देशक यादव प्राधिकरणकै अर्को बा ६ च १०३१ नम्बरको गाडी चढेका थिए ।
कार्कीले बिहीबार दिउँसो प्राधिकरणको गाडी सुटुक्क फर्काएका थिए । ‘गाडी लगेको मात्र थाहा भयो तर बिहीबार त सुटुक्क
फर्काएछन्’– प्राधिकरणका एक अधिकारीले भने–‘अख्तियार प्रमुख नियुक्तिलाई लिएर विवाद र चर्चामा आएका कार्कीले प्राधिकरणको गाडी नचढ्नुपर्ने हो तर लगेर फर्काए । आलोचनाबाट जोगिए ।’
पहिला प्राधिकरणकै गाडी पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाललगायतका विशिष्ठ नेताहरूले चढेका थिए । उनीहरूको सार्वजनिक रूपमा आलोचना भएपछि र स्वयं अख्तियारले समेत फर्काउन निर्देशन दिएपछि फर्काएका थिए । सत्तामा रहेका राजनीति दलका कार्यकर्ता र नेताहरूले प्राधिकरणका गाडी दुरुपयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि करिब दुई वर्ष अघिदेखि कसैले चढेका छैनन् ।
‘विगतमा पूर्वप्रधानमन्त्रीहरूले चढेको र व्यापक आलोचनापछि फिर्ता गरेको जानकारीसहित प्राधिकरणको गाडी नचढ्न भनेपछि कार्कीले फिर्ता गरेका हुन् ।’–अख्तियारका एक अधिकारीले भने– ‘अरूले दुरुपयोग गरे सचेत गराउनुपर्ने र फिर्ताका लागि निर्देशन दिँदै आएको र दिनुपर्ने निकायकै प्रमुख चढ्नु गलत भनेर भनेपछि कार्कीले वाध्य भएर फर्काएका हुन् ।’
अख्तियारका तत्कालीन कार्यवाहक प्रमुखआयुक्त ललितबहादुर लिम्बू र सचिव भगवती काफ्लेले पनि पटक–पटक प्राधिकरणको सुविधा सम्पन्न गाडी चढ्नका लागि प्रयास गरे पनि अख्तियारकै कर्मचारीहरूले नचढ्न सुझाव दिएपछि रोकिएको थियो । लिम्बूले त केही समय चढेका पनि थिए भने काफ्ले विरोधको कारणले चढ्न पाएनन् । ‘कार्कीले चढेको भए अरूलाई दुरुपयोग गरे भनेर निर्देशन दिने अख्तियारमाथि बारम्बार औंला उठ्थ्यो, फर्काएर राम्रो गरे’, ती अधिकारीले भने ।
अख्तियार प्रमुख कार्कीले प्राधिकरणका कार्यकारी निर्देशक यादवको गाडी लगेपछि बिहीबार दिनभर त्यसबारे चर्चा चलेको थियो । प्राधिकरणभित्रका युनियनहरूले समेत चासो राख्दै फिर्ता गर्नका लागि दबाब दिनेबारे छलफल गर्न थालेका थिए । तर, गाडी सुटुक्क फिर्ता भएपछि उनीहरू चुप भएका छन् ।








