Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
hatyaभैरहवा – भान्जाको विवाहको निम्तो मान्न र घरको काम सघाउन गंगोलिया-४ की चमेली चौधरी नन्दज्वाइँ घनश्याम चौधरीको घर पुगेकी थिइन् । भान्जाको बिहेमा रमाइलो गर्ने रहर थियो । तर उनलाई जिन्दगीभर नबिर्सिने चोट पर्‍यो ।
आफ्नै नन्द र नन्दज्वाइँले उनलाई बोक्सी आरोप लगाउँदै दुव्र्यवहार र कुटपिटसमेत गरे । बोक्सी आरोपमा प्रताडित उनी पीडकमाथि कारबाही माग गर्दै प्रहरीको शरणमा पुगेकी छन् । ‘मलाई बोक्सी भन्दै आफ्नै नन्द र नन्दज्वाइँले सार्वजनिक रूपमा दुव्र्यवहार र कुटपिट गरे,’ जिल्ला प्रहरीको महिला सेलमा पुगेकी उनले भनिन्, ‘बोक्सी भन्दै कुटेको भन्दा सार्वजनिक रूपमा गरेको बेइज्जतीको घाउ सन्चो नहुने गरी दुखिरहेको छ ।’
आफूमाथि शुक्रबार राति दुव्र्यवहार भएको दाबी उनले गरिन् । भान्जा किरणको विवाह निम्तो मान्न उनी नन्दको घरमा थिइन् । विवाह पार्टीमा राति नाचगान सुरु भयो । दुलाहा किरण पनि नाच्न थाले । नाच्ने क्रममा उनी एक्कासि बेहोस भएर भुइँमा पल्टे । त्यसपछि उनीमाथि नन्द, ज्वाइँ र केही आफन्तले बोक्सी आरोप लगाएर सार्वजनिक रूपमै दुव्र्यवहार गर्न थाले । ‘बोक्सी लगाएको भन्दै घनश्यामले २ पटक कुटेर लछारपछार गरे,’ प्रहरीलाई दिएको उजुरीमा उनले उल्लेख गरेकी छन्, ‘बोक्सी भन्दै मुखमा बलिरहेको अगुल्टोले पोल्न खोज्दै फोटो खिच्न खोजे तर जोगाउन कोही पनि आएनन् ।’
भाग्दै आफ्नो घर आएर सुरक्षित भएको उनले बताएकी छन् । उजुरीका आधारमा प्रहरीले १ महिलासहित ५ जनालाई पक्राउ गरी छानबिन गरेको डीएसपी पोषराज पोखरेलले बताए । पोखरेलका अनुसार गंगोलिया-३ बरौलियाकी नन्द मुक्ति, नन्दज्वाइँ घनश्याम, झारफुक गर्ने सन्तु हरिजन, केशव चौधरी र फागु चौधरीलाई पक्राउ गरिएको छ । मगनी चौधरी नामकी महिला फरार छिन् । जसमध्ये मुख्य आरोपी घनश्याम पूर्वअसई हुन् । प्रहरी नियन्त्रणमा रहेकी पीडितकी नन्द मुक्तिले भाउजूमाथि आफूहरूले बोक्सीको आरोप नलगाएको दाबी गर्दै छोरो बेहोस हुँदा चमेलीले हातखुट्टा कपाउँदै विवाहको पूजा गर्दा बालिएको दियो निभाइदिएको आरोप लगाइन् ।

तपाईको प्रतिक्रिया