दुबई । वैदेशिक रोजगारीको सिलसिलामा युएइस्थित नेपाली कामदारहरु भित्रिने संख्या दिनाहुं बृद्धि हुंदै गएको छ भने त्यहि अनुपातमा मृत्युदरमा पनि बृद्धि हुंदै गएको पाइन्छ । लगभग २ लाख ४० हजारको हाराहारिमा नेपाली कामदारहरु कार्यरत रहेको युएइमा विगतमा भन्दा यस बर्ष २०१३ मा मृत्यु हुनेको संख्या बढ्न थालेको हो ।
खाडी मुलुकहरुमध्य नेपाली रोजगारदाताहरुको लागि युएइ एउटा सुरक्षित तथा राम्रो गन्तव्यको थलो मानिन्छ । युएइ र नेपाल सरकारको श्रम सम्झौता अनुसार नेपाली कामदारहरुको प्राश्रमिक एक महिनाको तनखा ९ सय दिरामभन्दा माथि हुनुपर्ने नियम प्रावधान भएकोले पनि रोजगारदाताको संख्यामा बृद्धि हुन गएको हो ।
विगतको तथ्याङ्क हेर्दा २०१३ नयां साल सुरु भए लगत्तै नेपाली कामदारहरुको मृत्युको संख्यामा उल्लेखनिय बृद्धि हुन पुगेको छ । नेपाली राजदूतावास अबुधावीको तथ्याङ्क अनुसार जनवरी २०१३ देखि २३ अप्रिलसम्ममा १९ जना नेपाली कामदारहरुको मृत्यु भएको छ । जसमा हत्यामा १ जना, सडक दर्घटनामा ७ जना, आत्महत्यामा २ जना र सामान्यमा ९ जना रहेका छन् ।
नेपाली राजदूतावास अबुधावीबाट प्राप्त भएको तथ्याङ्क अनुसार १० बर्षको अन्तरालमा रोजगारीका लागि युएइमा छिरेका ५३२ नेपालीहरुले आफ्नो ज्यान गुमाएका छन् । विभिन्न कारणवश मृत्यु हुनेहरुमा सन् २००४ मा २९ जना, २००५ मा ३४ जना, २००६ मा ४८ जना, २००७ मा ४९ जना, २००८ मा ७० जना, २००९ मा ७१ जना, २०१० मा ८८ जना, २०११ मा ६७ जना र २०१२ मा ५७ जनाको मृत्यु भएका छन् ।
आफ्नो देश नेपालमा कुनै रोजगारीको राम्रो व्यवस्था नभएको कारण दिन प्रतिदिन युवावर्गहरु विदेश पलायन हुन वाध्य भएका छन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुद्धारा पठाएको रेमिटान्सले नै देशको अर्थतन्त्र धानिएता पनि विदेश जानका लागि काठमाण्डौंमा ठूलो भलाकुसारी गर्न बाध्य हुनुपर्दछ । देशमा राजनीतिको खेती मौलाएको अवस्थामा जनताले पाउनुपर्ने सुविधा र नयां मुहार कैले फेर्ने हो, यो त समय र परिस्थितिलाई नै कुर्नुपर्ला । ***








