टोकियो – जापानमा स्थापित सामाजिक संस्था ‘जातिभेद विरुद्ध विश्व मञ्च’ (ग्लोबल फोरम, जापान) को चौथो राष्ट्रिय अधिवेशन नयाँ नेतृत्व चयन गर्दै भव्यताका साथ सम्पन्न भएको छ । टोकियोमा आयोजित अधिवेशनले आगामी कार्यकालका लागि मंगल सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नेपालबाट आएका प्रतिनिधि सभा सांसद खगेन्द्र सुनारको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा उनलाई स्वागत तथा सम्मान समेत गरिएको थियो । फोरमको उपाध्यक्ष पदमा सोम विक, घनश्याम विश्वकर्मा, देव विसी र गवालाल जिआर चयन भएका छन् । संस्थाको प्रशासनिक जिम्मेवारी सम्हाल्ने महासचिव पदमा किरण सुनार निर्वाचित हुँदा सचिवहरूमा उत्तम विश्वकर्मा, बलदेव लोहार, राज गहतराज, सुनिल विक र विष्णु गैरे नेपाली चयन भएका हुन् ।
त्यसैगरी, आर्थिक विभागको जिम्मेवारी (कोषाध्यक्ष) रामशरण रसाईलीलाई दिइएको छ भने सहकोषाध्यक्षमा रामबहादुर विक चयन भए । कार्यसमितिको सदस्यहरूमा पवन विश्वकर्मा, सुसान्त सुनार, सुजन परियार, तिलक विक, सुनिल विक, कल्पना विशुके, रेजिता सेन्चुरी, विजय सुनार, शिशिर सुन्ती र विरेन्द्र सुनार चयन भएको ग्लोबल फोरमले जनाएको छ ।
‘एकता, समानता, सम्मान र सामाजिक न्याय’ को मूल नारा बोकेको यस मञ्चले जापानमा रहेका नेपाली समुदायभित्र हुने विभेद विरुद्ध आवाज उठाउनुका साथै सामाजिक सद्भाव कायम राख्ने लक्ष्य लिएको छ । नवनिर्वाचित अध्यक्ष मंगल सुनारले आफ्नो कार्यकालमा संस्थालाई थप उचाइमा पुर्याउने र प्रवासमा रहेका नेपालीहरूका समस्यामा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनको समापनसँगै जापानस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा व्यक्तित्वहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।








