समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको थियो। प्रहरीले उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि गरेको छ। वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले उनको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्त्वपूर्ण अंगमा गम्भीर क्षति पुगेको थियो। अस्पताल पुर्याइएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
उनको उपचारका लागि प्लास्टिक सर्जरी, क्रिटिकल केयर, एनेस्थेसिया तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय चिकित्सक टोली परिचालन गरिएको थियो। नेपालीले बिहीबार राहदानी विभागको मुख्य प्रवेशद्वार अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि प्रहरी र स्थानीयले उद्धार गरी तत्काल वीर अस्पताल पुर्याएका थिए।








